काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ। हाल ५ हजार ५ सय ४० जना संक्रमितको उपचार भइरहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार १२८ उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
मास्कको प्रयोगमा कडाई गर्न गृहको निर्देशन
गृह मन्त्रालयले सामाजिक दूरी कायम गराउन र मास्क तथा स्यानिटाइजरको प्रयोगमा कडाई गर्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयसहित देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहले यस्तो निर्देशन दिएको हो।
गृहको परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क स्यानिटाइजर प्रयोग नगरिएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्ने तर्फ पनि सचेत गराइएको छ।
गृहले मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न समेत निर्देशन दिएको छ।




















