काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
५ हजार ३ सय ५८ जना उपचारतथ छन् भने ४३ जनाको मृत्यु भएको छ ।
आज थपिएका १ सय ४७ जना संक्रमित मध्ये काठमाडौं उपत्यकाका ९ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुर र भक्तपुरमा २/२ जना छन् । संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुकटा र सुनसरीका २/२, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका ४, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सिरहाका २ र सप्तरीका ७ जना छन् भने नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घन्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल प्रयोगशाला चितवनमा महोत्तरीका १, पाटन अस्पताल ललितपुरमा काठमाडौंका ३, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पर्वतका १ जनामा कोरोना पाइएको छ भने स्टार अस्पताल सानेपामा ललितपुरमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा कास्की र स्याङजाका १÷१ र पर्वतका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका ११, प्युठानका १ र नवलपरासीका १ जनामा कोरोना भेटिएको छ।
त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका ५ र सल्यानका १, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना पुष्टि भएको छ भने डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ र डोटीका ७ र सेती प्रादेशिक अस्पतालमा कैलालीका १, बझाङका १ र कञ्चनपुरका ३० जनामा कोरोना भेटिएको छ ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ४ सय १ जनाको पिसिआर परीक्षण भएको छ।




















