काठमाडौं । पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो जानुका साथै पुल समेत वगाएकाले सडक अवरुद्ध भएको छ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण
धादिङ जिल्ला रोराङ गाउँपालिका मौवा खोलामा आएको बाढीले पुलछेउको जमिनको भत्काउँदा आवतजावत ठप्प भएको छ।
धादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुलभन्दा अगाडिको भाग पुरै बगाएर परेको खाल्डो पुर्न पनि
मौसमले साथ दिएको छैन । अझै पाँच दिन लगातार पानी पर्ने मौसम विभागले वताइसकेको छ । जसले गर्दा सो मार्गमा गाडी गुडाउन सहज हुन समय लाग्ने स्थानीयले बताएका छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने सबै कुरा सहज भएमा मंगलबारसम्म राजमार्ग खुल्न सक्ने बताएका छन् ।
सो स्थानको निरीक्षणका लागि सेना र प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेपनि ठाउँठाउँमा बाटो बन्द भएका कारण जान नसकेको बताइएको छ ।
त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको बताइएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिएका छन् ।
त्यस्तै गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ, एक जना बेपत्ता र एक जना घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।




















