काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार बिहीबार देशभर थप १५६ जनामा संक्रमण देखिएको हो। एकै दिन नेपालमा संक्रमण पुष्टि भएको यो सबैभन्दा बढी हो । बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियोभने मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका २ जना पुरुषमा संक्रमण भेटिएको छ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २५ जना पोजिटिभ देखिएका छनभने भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुलका एकजना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।
त्यस्तै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनाको पोजिटिभ आएको छ। उनीहरु धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखम्बुका १ जना छन्।
यस्तै सुर्खेतको प्रयोगशालामा गरीएको परीक्षणमा २३ जना संक्रमित भेटिएका छन्। बझाङको एक जना, सुर्खेतका १३ जना, एकजना बोल्न नसक्ने महिला, दैलेखका ८ जना छन्।
प्रादेशिक प्रयोगशाला गण्डकीमा गरीएको परीक्षणमा स्याङ्जाका ३ जनाको पोजिटिभ आएको छ। सेती अस्पतालमा गरिएको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका दुई गरि तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ।
यस्तै किटजन्य प्रयोगशाला हेटौडामा हेटौडाकै एकजना, भेरी अस्पतालमा ४ जनामा पोजिटिभ देखिएको छ। उनीहरु बर्दियाका ३ र नेपालगञ्जका एक जना छन।
यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा पोजिटिभ आएको छ।
नेपालमा कोरोना संक्रमणबाट १४४ पुरुष र ४३ महिला गरी १८७ जना निको भइसकेका छन्।



















