काठमाडौं । रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन भएको छ ।
मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनु भएको छ ।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर(८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।
सो घटनामा ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन् । केटी पक्षको आक्रमणबाट बच्न भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विक र सँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ ।
फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको गृहमन्त्री थापाले जानकारी दिनु भएको छ । हालसम्म फेला नपरेकाहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताउनु भएको छ ।
वेपत्ता रहेका जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विकको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले बताउनु भएको छ ।




















