काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
गुल्मी मदाने गाउँपालिका–६ का संक्रमितको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।
मदाने–६ पुर्कोटदहको निमाविका प्रधानाध्यापकलाई क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि ज्वरो आएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा भने गरिसकेको छैन ।
कोरोना भाइरसका कारण यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु भएको थियो । उनीहरु दुवैजनाको मृत्यु भइसकेपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।




















