काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज) का अवसरमा भोली पशुपतिनाथ मन्दिरका चारै वटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दर्शनार्थीहरूको सहजताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
कोषका अनुसार यस वर्षको तीजलाई सुरक्षित, व्यवस्थित र भक्तिमय बनाउन सातवटा विशेष उपसमितिहरू गठन गरी काम अगाडि बढाइएको छ। भक्तजनहरूको भीड व्यवस्थापनका लागि मन्दिर बाहिर ५ वटा र मन्दिर प्रवेश गरेपछि भित्र ८ वटा लाइनको व्यवस्था गरिएको छ।
विशेष पासको व्यवस्था नगरिने
कोषले यस वर्ष दर्शनका लागि कुनै पनि प्रकारको विशेष पास वितरण नगरिने प्रष्ट पारेको छ । सबै भक्तजनले लाइनमा बसेर नै दर्शन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । यद्यपि, स्थानीय बासिन्दाहरूको आवतजावतका लागि भने काठमाडौँ महानगरपालिका वडा नं. ८ ले जारी गरेको पास मान्य हुने विज्ञप्तिमा उल्लेख छ ।
पुरुषलाई प्रवेश निषेध
तीज विशेष गरी महिलाहरूको पर्व भएकाले मन्दिरको मूल क्षेत्रमा पुरुषहरूलाई प्रवेश निषेध गरिएको छ। नियमित पूजा गर्ने पुरुष दर्शनार्थीहरूले भोलि बिहान ५:३० बजेभित्रै दर्शन गरिसक्नुपर्नेछ । सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी परिचालन गरिनेछ भने पकेटमार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सादा पोसाकका प्रहरी समेत खटिनेछन् ।
पार्किङ र निषेधित कार्यहरू
सवारी साधन व्यवस्थापनका लागि भिआइपीका गाडीहरू कोषको कार्यालय प्राङ्गणमा र अन्य सवारी साधनहरूलाई भण्डारखाल, सिफल चौर, वनकाली, तिलगङ्गा र उमाकुण्ड क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ। साथै, पशुपति क्षेत्रभित्र मासु, मदिरा तथा अन्य कुनै पनि प्रकारका नशालु पदार्थको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको कोषले जनाएको छ ।



















