काठमाडौँ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले कोभिड–१९ का कारण म्यानपावर व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई आज ज्ञापनपत्र बुझाउँदै मञ्चले विदेशमा काम गर्दागर्दै कोरोना महामारीका कारण रोजगार गुमाइ स्वदेश फिर्ता हुने कामदारको व्यवस्थापन गर्ने विषयमा यशासक्य चाँडो पहलकमदमी लिन पनि ध्यानाकर्षण गराएको हो ।
कोभिड–१९ का कारण गत चैत महिनादेखि श्रम स्वीकृति बन्द हुँदा चालु आर्थिक वर्षमा १०० जना कामदार पठाउन नसक्ने भन्दै मञ्चले १०० कामदार नपठाउदा म्यानपावर खारेज गर्ने प्रावधान तत्काल हटाउन पनि माग गरेको छ ।
कोरोनाका कारण व्यवसायीको कार्यालय सञ्चालन गर्न आर्थिक कठिनाइ भएकाले व्यवसायीले धरौटीबापत राखेको रु ५० लाख निश्चित समयका लागि फिर्ता दिन पनि मञ्चले आग्रह गरेको छ ।