काठमाडौं । विश्वव्यापी कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले COVID-19 सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् । यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै एन आई सी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ ।
बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com) मार्फत नवीनतम प्रयोग थालेको हो । जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एन आई सी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नुहुन्छ । सहज तथा सरल बैकिङ्गको अंगीकार गरेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो ।
कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।
यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गर्दछ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरूका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।
यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।