महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा आर्थिक सङ्कट उत्पन्न हुने निश्चितै छ । अहिले नै ठूला कम्पनीहरुले आफ्ना कर्मचारी कटौती गर्नुका साथै उत्पादन बन्द गरेर सम्भावित नोक्सानीको मारबाट बच्ने प्रयास गरिरहेका छन् । यही मेसोमा साना तथा मझौला र पारिवारिक स्वरुपका व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी पनि गहिरो आर्थिक सङ्कटमा पर्दै गएका छन् ।
साना व्यवसाय सञ्चालन गर्दै आएका र खासगरी अत्यावश्यक सेवामा नपर्ने व्यवसायलाई पुनर्जीवन दिन ठूलै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । अमेरिकामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका नेपाली मूलका व्यवसायीहरुले पनि आफ्नो व्यवसाय सङ्कटमा परेको बताउन थालेका छन् ।
सानो पूँजीदेखि लगानी विस्तार गर्दै व्यवसायलाई फराकिलो बनाउँदै लगेका नेपालीलाई अहिलेको लकडाउन कति दिनसम्म जाने हो भन्ने चिन्ताले सताएको छ । पछिल्ला वर्षहरुमा अमेरिकामा नेपालीहरुले सूचना प्रविधि, होटल तथा मोटल, रेष्टुरेन्ट, ब्यूटी तथा स्पा, ग्यास तथा ग्रोसरी स्टोर, घरजग्गा कारोवार (रियल स्टेट) लगायतका क्षेत्रमा लगानी गर्दै आएका छन् ।
साना पारिवारिक स्वरुपका व्यवसायदेखि ठूला आयोजनासम्मको क्षेत्रमा नेपालीले लगानी विस्तार गर्दै लगेका छन् । यी सबैलाई कोरोना महामारीले सङ्कटमा पारिदिएको छ । उनीहरु अब के गर्ने विषयमा अहिल्यै केही भन्न सकेका छैनन् । यो आलेख तयार पार्दासम्म अमेरिकामा ४० हजार व्यक्तिले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् भने यो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या साढे ७ लाख नाघेको छ । यसबाट यहाँ ५० खर्ब डलरबराबरको क्षति भइसकेको तथ्याङ्क सरकारकै तर्फबाट सार्वजनिक भएको छ ।
टेक्सासमा सूचना प्रविधि व्यवसायमा स्थापित हुनुभएका गैरआवासीय नेपाली सङ्घ आइसिसीका सचिव गौरी जोशीले भन्नुभयो, “अमेरिकामा अहिले एयरलाइन्स, होटललगायतको सेवा क्षेत्रमा जस्तै सूचना प्रविधिको क्षेत्रमा पनि असर पारेको छ । यो कतिसम्म जान्छ र यसले दीर्घकालीन रुपमा कस्तो असर गर्छ भन्ने अहिले नै आँकलन गर्न सकिन्न । त्यसैले हामी पनि अहिले एक किसिमले भन्नुपर्दा अन्योलकै अवस्थामा छौँ ।”
सचिव जोशीले भन्नुभयो, “कोभिड–१९ का कारण कतिपय व्यवसायीले शून्यबाट आफ्नो व्यवसाय शुरु गर्नुपर्ने र कतिपयले आफ्नो व्यवसाय टाट पल्टिएको घोषणा गर्नुपर्ने अवस्था पनि आउनसक्छ । त्यसको चक्रीय असर पर्दै मानिसहरुले आफ्नो अपार्टमेन्टको पैसा तिर्न नसक्ने र कतिपयले बस्दै आएको घरसमेत गुमाउने अवस्था पनि सिर्जना हुने मेरो अनुमान छ ।”
जोशीका अनुसार अमेरिकामा करिब तीन हजार नेपाली व्यवसायमा संलग्न भएको अनौपचारिक तथ्याङ्क छ । यसरी व्यवसाय गरिरहेकाहरुले पछिल्ला वर्षहरुमा आफ्नो व्यवसाय विस्तारलाई गति दिएको भए पनि कोभिड–१९को कारणले अमेरिकामा रहेका अन्य व्यवसायी जस्तै गम्भीर अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ ।
विगत एक दशकदेखि सौन्दर्य व्यवसायमा संलग्न रहँदै आउनुभएको लक्ष्मी भट्ट न्यूयोर्कमा व्यवसाय गर्दै आएका सबैलाई सङ्कटको सामना गर्नुपर्ने अवस्था आएको वताउनुहुन्छ । भट्ट भन्नुहुन्छ, “आगामी केही साताभित्र व्यवसाय खोल्न नसकेको अवस्थामा सरकारले लिने निर्णयले व्यवसाय सञ्चालन गर्न सकिने, नसकिने स्पष्ट हुनेछ ।” व्यवसायमा हुने विभिन्न शीर्षकको खर्च, भाडा र कर्मचारीहरुको समेत खर्चका अबका दिनहरुमा व्यवसाय सञ्चालन गर्न असम्भव रहेको उहाँको अनुमान छ ।
अमेरिकामा रहेका नेपाली व्यवसायीहरुमा सफल मानिनुहुने लस एञ्जलस क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल भने यहाँको व्यवसायको विषयमा अहिले नै भविष्यवाणी गर्न चाँडो हुने बताउनुहुन्छ । ढकालले भन्नुभयो, “अमेरिकाभर नै नेपाली मूलका व्यवसायीले सञ्चालन गरेका व्यवसायमध्ये पाँचदेखि दश प्रतिशतसम्म मात्र सञ्चालनमा छन् र अरु बन्द नै भइसकेका छन् ।”
ढकालका अनुसार अमेरिकी सरकारले ल्याएको साना तथा मझौला व्यवसायका लागि सस्तो ब्याजदरको ऋण, ‘पे चेक प्रोटेक्सन प्रोग्राम’ लगायतबाट कसरी लाभ लिन सक्छन् भन्न अहिले नै नसकिने अवस्था रहेको छ ।
अमेरिकामा सौन्दर्य तथा रेष्टुरेन्ट व्यवसायमा रहेकाहरु सरकारले घोषणा गरेको अत्यावश्यक सेवा नभएकाहरुको बन्द गर्ने घोषणाको पहिलो चरणमै मारमा परेका छन् । ती व्यवसायहरु अहिले अधिकांश बन्द भइसकेका छन् । ढकालले यी प्रारम्भिक रुपका व्यवसायलाई जीवन दिन एक वर्ष लाग्ने बताउनुहुन्छ ।
अमेरिकामा रहेका नेपालीहरु बचतमा बस्ने बानी भएकाले गर्दा सङ्कटपछि आउने अवसरबाट भने लाभ लिनसक्ने ढकालको अनुमान छ । उहाँ भन्नुहुन्छ, “कतिपय व्यक्तिले बचत गरेर राख्नुभएको रकम घर तथा व्यवसायमा लगाउने अवसर आउन सक्छ । साथै अमेरिकी सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने रणनीति लिने पनि प्रवल सम्भावना छ र यसले गर्दा अमेरिकाभित्र यो महामारीपछि रोजगारीको अवसरमा वृद्धि हुने सम्भावना पनि त्यत्तिकै छ ।”
शिकागोका नेपाली व्यवसायी बाला घिमिरे आफ्नो २३ वर्षको अमेरिका बसाइँ तथा व्यवसायमा अत्यासलाग्दो र अप्रत्यासित अवस्थाको सामना गर्नुपरेको बताउनुहुन्छ । शिकागोमा घिमिरेका तीनवटा रेष्टुरेन्ट छन् । उहाँका यी रेष्टुरेन्टमा ३६ जनाले रोजगारी पाएका छन् । महिना दिनदेखि उहाँका सबै रेष्टुरेन्ट बन्द छन् ।
घिमिरेले यो सङ्कटबाट पार पाएर पुरानै तरिकाले व्यवसायलाई निरन्तरता दिन कम्तीमा पनि पाँचदेखि सात वर्ष लाग्ने अनुमान गर्नुहुन्छ । घिमिरेले व्यवसायलाई निरन्तरता दिन कोरोना भाइरसको नियन्त्रणका लागि निर्माण हुने खोप पूर्णरुपमा उपलब्ध भएपछि मात्र मानिसको दैनिकी सहज हुने बताउनुहुन्छ ।
अमेरिकाको आइओवामा विगत २८ वर्षदेखि घरजग्गा कारोवार र सेवा उद्योगका क्षेत्रमा संलग्न रहँदै आउनुभएका राधेश पण्डितले भने अहिले मानिसहरुसँग पैसा रहेको र सरकारले राहत प्याकेजअन्तर्गत खर्च गर्न खोजेको २२ खर्ब डलरको रकमले अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताउनुहुन्छ ।
पण्डितले भन्नुभयो, “हामीहरु सहभागी भएको सेवा क्षेत्रका व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याएर काम गर्न त केही समय कुर्नुपर्छ तर हाउजिङ तथा रियल स्टेटमा भने मानिसहरुले अर्को चार पाँच महिना ऋण तिर्न नसकेर टाट पल्टिने स्थिति आउने सम्भावना देखिँदैछ । पण्डितले यदि कोभिड–१९ नियन्त्रणमा आउने या खोप नै बन्ने अवस्था आएको खण्डमा सरकारले राहतका रुपमा दिएको प्रतिव्यक्ति एक हजार २०० डलर रकम, बैंक तथा वित्तीय सेवा प्रदायकहरुले आफ्ना ग्राहकलाई दिने राहतका सुविधाले गहिरो सङ्कटको सामना गर्न भने नपर्ने अनुमान गर्नुहुन्छ । पण्डित अहिलेको सङ्कट र सन् २००८ को वित्तीय सङ्कटलाई तुलना गरेर हेर्न नमिल्ने बताउनुहुन्छ । कोरोना भाइरस आउनुभन्दा अगाडि अमेरिकाको अर्थतन्त्र पूर्ण र सन्तुलित ढङ्गले अगाडि बढिरहेकाले पहिलेकोसँग तुलना गर्न नमिल्ने उहाँको तर्क छ ।
अमेरिकामा सन् २००७ को वित्तीय सङ्कट भोगेका अमेरिकीहरुका लागि यो अर्को पाठ भए पनि अहिले सूचना प्रविधिका कारणले कतिपय रोजगारी घरबाट गर्न सकिने भएकाले पनि अर्थतन्त्रमा गहिरो सङ्कट नआउने उहाँको भनाइ छ । सरकारले ल्याएको विभिन्न प्याकेज र आमनागरिकलाई प्रतिव्यक्ति दिइएको डलरको रकम अन्ततः बजारमै जाने भएकाले यस्तो अवस्था नआउन पनि सक्ने कतिपयको विश्लेषण छ ।
व्यवसायको प्रकृतिअनुसार पनि कतिपय व्यवसाय आंशिक रुपमा खुलेका छन् । मेरिल्याण्डमा ‘अमेरिकन फुड चेन सव वे’को व्यवसाय गर्दै आउनुभएका तीर्थ पाण्डेयले भन्नुभयो, “हामीले यो चेन व्यवसायलाई खुला त गरेका छौँ तर सेवा दिने समय भने केही घटाएका छौँ ।” पाण्डेयले आफूहरुको कम्पनीले खोल्नका लागि प्रेरित गरिरहेको सुनाउनुभयो ।
सङ्क्रमितको सङ्ख्या कम भएको र अवस्थाको आँकलन गरेर यस्ता व्यवसायले लिएर जाने (क्यारी आउट) सेवा मात्र प्रदान गर्दै आएका छन् । अमेरिकाको स्थानीय खानाको व्यवसायमा पिज्जा, बर्गर र स्याण्डवीच महत्वपूर्ण खाद्य पदार्थ हो । टेक्सासमा यस्तै स्टोर सञ्चालन गर्दै आउनुभएकी रीता कार्कीले आफूहरुले आंशिक रुपमा व्यवसाय सञ्चालन गरेको बताउनुहुन्छ । पहिलेजस्तो ग्रीष्मकालीन समयमा ग्राहकको चाप नभए पनि सचेततापूर्वक अत्यावश्यक सामग्रीहरु बिक्री गर्न स्टोर खुला राखेको कार्की बताउनुहुन्छ ।
अमेरिकामा राज्यअनुसार आम्दानी तथा खर्चको आँकडा फरक फरक हुने भएकाले पनि कतिपय अवस्थामा राज्य तहका अधिकारीहरुले लिने निर्णयले व्यवसायलाई पुनर्जीवन दिनका लागि सहज हुनेछ । तर अहिले सम्पूर्ण संयन्त्र नै कोरोना भाइरसविरुद्धको अभियानमा लागेकाले समय आएपछि सरकारी राहत तथा प्याकेजको ठोस निर्णय आउने अपेक्षा राख्न सकिन्छ ।
अमेरिकामा व्यवसाय सञ्चालनमा आउन अगष्टको पहिलो सातासम्म कुर्नुपर्ने अधिकारीहरुले बताएका छन् । तर महामारी कति समयसम्म रहन्छ भन्नेमा बारेमा अहिले नै कसैलाई अनुमान भने छैन । त्यसैले गर्दा पनि अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली व्यवसायी पनि समस्यामा परेका छन् ।