रसुवा– उत्तरी रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले आफ्नो इलाकामा बाह्य व्यक्ति प्रवेशमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार सरकारले लागू गरेको लकडाउनबाट गाउँबासी अनुशासित भए पनि बाहिरबाट आउनेले कोभिड १९ भित्र्याउन सक्ने आशंका बढेकाले गाउँपालिकाको निर्णयबमोजिम आफ्नो इलाका क्षेत्रमा बाहिरबाट आउने मानिसको प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।
देश लकडाउनका बेला अन्य स्थानका मानिस आवतजावत बन्द भइसकेका अवस्थामा सडकमार्गमै रोक लाउन भने नपाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
यदि कुनै मानिस लकडाउनको उल्लंघन गरी हिँडेर गाउँघरमा प्रवेश गरे नियन्त्रणमा लिई नजीकको सुरक्षा निकायमा बुझाउन उपयुक्त हुने बताउँदै प्रजिअ भण्डारीले सुरक्षा निकाय, स्वास्थ्यकर्मीसमेत हिँड्ने सडक मार्गमा कहीँकतैबाट अवरोध नहुने जानकारी दिनुभयो ।



















