काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच खल्ती एप तथा वेबसाइटबाटै रेमिटयान्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र खल्तीका निर्देशक अमित अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब खल्ती एप तथा वेबसाइटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाइसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाइलमा एसएमएसमार्फत पिन प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।
प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरि रहेका ७ हजार ५ सयभन्दा बढी रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रूपमा पैसा निकाल्न सक्नेछन् ।
त्यस्तै सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्टमार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने पनि जनाइएको छ ।