काठमाडौं । सिन्धुपालञ्चोकमा माझी बस्ती बनाइदिएर समाजसेवामा होमिएकी अभिनेत्री श्वेता खड्का हाल क्यान्सर अस्पतालको निर्माणमा जुटेकी छिन् ।
ललितपुरको गोदावरी नगरपालिकास्थित छम्पीमा श्वेतासँगै साथीहरु मिलेर बनाउन लागेको ‘नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर’को भवन निर्माण सुरु भएको छ । यो भवनको सोमबार मात्र सिलान्यास गरिएको हो ।
दुई वर्षभित्रै क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने योजनासहित आफू यो अभियानमा जोडिएको अभिनेत्री श्वेताले बताएकी छन् ।
आफ्ना श्रीमान् श्रीकृष्ण श्रेष्ठ र भिनाजु क्यान्सर रोगकै कारण गुमाउनु परेको स्मरण गर्दै अभिनेत्री खड्काले क्यान्सरको सुलभ उपचारको लागि अस्पताल निर्माण थालेको बताएकी छिन् ।
अस्पताल भवनको सिलान्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री खड्काले उपचार खर्चको अभावमा धेरैले ज्यान गुमाएका कारण सर्वसुलभ रुपमा क्यान्सरको उपचारका लागि अस्पताल निर्माण गर्नुपर्छ भनेर पाँच वर्षअघि देखि नै सक्रिय रहे पनि बल्ल भवन निर्माण शुरु भएको बताइन् ।
कलाकारको पनि सामाजिक दायित्व हुने महसुस गरेर माझी बस्ती निर्माण पछि आफू क्यान्सर अस्पताल निर्माणमा जोडिएको नायिका खड्काले बताएकी छिन् ।
‘समयमै उपचार गर्दा क्यान्सर ठिक हुन्छ भन्ने अभिनेत्री मनीषा कोइरालाबाट पनि प्रमाणित भइसकेको स्मरण गर्दै नायिका खड्काले उहाँ जस्तै आफू पनि क्यान्सरविरुद्धको अभियानमा जुटेकी बताइन् ।
अस्पताल निर्माणमा आफूहरूको टिममा अभिनेत्री मनीषा कोइराला समेत जोडिएका कारण अझ धेरै हौसला मिलेको अभिनेत्री खड्काले बताएकी छिन् ।
आफूहरूले निर्माण शुरु गरेको अस्पताल एक सय शैयाको हुने उनले बताएकी छिन् । यो अस्पताललाई नेपालमा अहिले भएका क्यान्सर अस्पतालमध्ये सबैभन्दा सुविधा सम्पन्न र सस्तो उपचार केन्द्र बनाउने योजना रहेको उनले बताएकी छिन् ।
यो अस्पताल पैसा कमाउनभन्दा पनि सेवाको उद्देश्यले निर्माण हुन लागेकाले उनले बताएकी छिन् ।
नायिका खड्काले आफू र आप्mनो टिमको मात्रै पैसाले अस्पताल निर्माण गर्न नसकिने बताउँदै सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छिन् ।
पछिल्लो समय अभिनेत्री श्वेता चलचित्रभन्दा सामाजिक अभियानमा व्यस्त छिन् । दुई वर्षअघि चलचित्र कान्छी प्रदर्शन भए पनि त्यसपछि उनले फिल्म खेलेकी छैनन् । ७ महिनाअघि फिल्म हेलो जिन्दगीमा नायिकाका रूपमा अनुबन्धित भए पनि सुटिङका क्रममा बिरामी भएपछि यो चलचित्र छाडेको उनले बताएकी छिन् ।