काठमाडौँ । नेपाल विद्यार्थी संघ ९नेविसंघ० का अनसनरत विद्यार्थीमाथि अर्को समूहले गमला प्रहार गरेको छ । नेविसंघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनदेखि रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ ।
सभापति देउवा पार्टी कार्यालय प्रवेश गर्न खोज्दा अनसनरत समूहका कार्यकर्ताले घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए । सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएको बताइएको छ ।
पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्रहार गर्नुका साथै दुबै पक्षबीच मुक्का हानाहान भएको बताइएको छ ।
अनसनरत समूहले देउवालाई आफ्नो माग सुनुवाइ नगरी ३२ वर्षमाथिबाट तदर्थ समिति गठन गरिएको भन्दै घेरा हालेका थिए । सोही क्रममा नेविसंघ काठमाडौँका सभापति मनोज वैद्यले बिथोल्ने प्रयास गरेपछि विवाद हुँदै हात हालाहाल र गमला प्रहारसम्मको अवस्था निम्तिएको बताईएको छ ।



















