भक्तपुर । बिहान होस् वा साँझ मोटरसाइकल र कारमा आउनेहरुको फोहर फाल्ने अखडा बनेको थियो, भक्तपुरको ऐतिहासिक हनुमन्ते नदी । सभ्य समाजका केही असभ्य व्यक्ति आफ्ना सवारीसाधनमा आएर हनुमन्ते नदीको पुलबाट फोहरले भरिएको बोरा र झोला फुत्त फालेर हुइकिन्थे ।
यसरी नदी वरिपरि स्थानीयवासीको फोहर फाल्ने अखडा बनिरहेको देखेपछि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्ते नदी सफाइसँगै हरियाली प्रवद्र्धन अभियान सञ्चालन गर्ने परिकल्पना गरेपछि शुरु भयो हनुमन्ते नदी सफाइ अभियान । ‘उठौं, जागौं, हनुमन्ते नदी सफाइमा सबै लागौं’ भन्ने मूलनाराका साथ सरकारको लगानी बिना नै २०७४ फागुन १९ गते शनिबार तत्कालीन जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाइ अभियानका अगुवाइ गर्ने पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हनुमन्ते सफाइ अभियानले आगामी शनिबार अन्ततः १०० हप्ता पूरा गर्दैछ ।
अभियानको १०० हप्ताको कार्यक्रम शनिबार बिहान वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा सांसद बस्नेतसहितको टोलीले भव्य रूपमा गर्ने भएको छ । कार्यक्रममा हरियाली प्रवद्र्धन एवं सोलार बत्ती जडानको समेत उद्घाटन हुनेभएको अभियानका संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
सरकारको लगानीबिना नै स्वतस्फूर्त स्थानीय अभियन्ताको सहयोग र साथमा हनुमन्ते नदी सफाइ अभियानले १०० हप्तामा पुग्दा धेरै उपलब्धि हासिल गरेको सांसद महेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो–“हनुमन्ते सफाइ अभियानलाई जोडेर अरनीको राजमार्ग सफाइ अभियान, हरियाली प्रवद्र्धन गर्दै राजमार्गमा हरियाली अभियान, मठमन्दिर एवं सम्पदा सफाइ अभियान, वृक्षरोपण, सडकमा सोलारबत्ती जडान अभियान, दुर्घटना न्यूनीकरण अभियान, सडकमा सिसि क्यामरा जडान, सडक र गाडीमा स्मार्ट डस्टबिन प्रयोग जस्ता धेरै उपलब्धि यही अभियानबाट भयो ।” देशकै नमूनाको रुपमा सञ्चालन भएको हुनमन्ते सफाइ अभियानको १०० सातासँगै यो अभियानलाई अब फरक ढङ्गले अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
हनुमन्ते सफाइ अभियानका दूत एवं नेपाली चलचित्रका निर्देशक मदन घिमिरेले अभियानले स्थानीयवासीमा धेरै चेतना वृद्धि भएको बताउँदै अब स्थानीयस्तरमा सफाइ अभियानलाई अपनत्व ग्रहण गर्दै नियमित सञ्चालन गर्नुपर्ने बताउनुभयो । हनुमन्ते सफाइ अभियानले सार्थकता पाएको बताउँदै उहाँले १०० हप्तासम्म पुग्दा हनुमन्ते र राजमार्गमा फोहर फाल्ने क्रम न्यूनीकरण गर्न सफल भएको उहाँले बताउनुभयो ।
हुनमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेलले ९९ हप्तासम्ममा हनुमन्ते सफाइ अभियानमा एक हजार ६०० टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । अभियानमा ९५ हजारभन्दा बढी व्यक्ति र २५० भन्दा बढी सामाजिक सङ्घसंस्थाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत नै सांसद बस्नेतकै पहलमा विपद् व्यवस्थापनका सामग्री हस्तान्तरण गरिनुका साथै मनोहरापुलदेखि मध्यपुरथिमि राधेराधेसम्म अरनिको राजमार्गमा सोलारबत्ती जडान गरिएको छ । त्यस्तै सूर्यविनायकसम्म हरियाली प्रवद्र्धनअन्तर्गत सडककोबीच र किनारामा दूबो रोप्ने काम सम्पन्न भएको छ ।
आगामी शनिबार हनुमन्ते पुलदेखि सूर्यविनायकसम्म सडकमा सोलारबत्ती जडान र मनोहरासम्म दूबो रोप्ने कामको समेत शुभारम्भ हुने भएको छ । त्यसैगरि सडकमा स्मार्ट डस्बिन जडान गर्नुका साथै गाडीमा समेत फोहर बाहिर नफाल्न अनुरोध गर्दै डस्बिन वितरण गरिएको छ । १०० हप्ताको कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएको छ ।
अभियानअन्तर्गत मध्यपुर थिमिमा सफाइ श्रम शिविरसमेत सञ्चालन गरिएको थियो । मध्यपुर थिमि नगरको विभिन्न सङ्घसंस्थामा आवद्ध युवाहरूले मध्यपुर थिमि सफाइ श्रम शिविर अभियान सञ्चालन गरेका थिए । नियमित सफाइ श्रमशिविरमा उत्रिएका युवाहरूले ऐतिहासिक विष्णु कुण्डल, विष्णुवीर, बालकुमारीलगायत क्षेत्रमा फोहोर सङ्कलन गरेको थियो ।