मोरङ । मोरङको पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन । मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ ।
हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोसित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गरे ।
मन्दिर निर्माणका लागि जग्गादान गरेका दिलीप पासवानले सलहेसको मन्दिर गाउँमै बनेपछि कुलपित्री र देवीदेवताको पूजापाठ हुने भनेपछि आफूले जग्गा दिएको स्मरण गरे । जग्गा दिए पनि मन्दिर निर्माणलाई प्राथमिकता नदिएकामा आफूलाई नरमाइलो लागिरहेको उनको भनाइ छ । ‘सहलेस हाम्रो आस्थाको देउता हुन् । गाउँमै मन्दिर बन्ने र पासवान समुदाय नै लाभान्वित हुने भनेपछि जग्गा दिएको थिएँ तर मन्दिर निर्माण गर्ने आफ्नो सामर्थ्य छैन । अरुले सहयोग नगरेपछि निर्माण सुरु भएको मन्दिर पनि अलपत्र छ’, उनी भन्छन् ।
मन्दिर निर्माण समितिका सचिव सञ्जय पासवानले आर्थिक अभावकै कारण काम अगाडि नबढेको सुनाए । यहाँ २५/३० पासवान परिवारको बसोबास छ । पूजापाठका लागि अफ्ठ्यारो भयो भनेर गुनासो गर्दा पनि कसैले सहयोग नगरेको उनले गुनासो गरे ।
विसं २०५४ मै मन्दिर निर्माणको योजना बनाइएको थियो । सोही योजनाअनुसार स्थानीय जोगिलाल पासवान र दिलीप पासवानले त्यसै वर्ष एक कट्ठा जग्गादान गरेका थिए । त्यसयता पटकपटक पहल गर्दा पनि मन्दिर निर्माण हुन सकेन । २०७४ मा स्थानीय तहको निर्वाचनपछि काम सुरु भएको थियो । नगरको सहयोग र स्थानीय पासवान समुदायले रकम सङ्कलन गरेको रकमबाट मन्दिरको पिल्लर र छतसम्म निर्माण भयो तर बाँकी काम अगाडि बढ्न सकेको छैन । स्थानीय गुणबहादुर खड्काले सानो मन्दिर पनि वर्षौसम्म नबन्नु राम्रो नभएको बताए । (रासस)