काठमाडौं । आज २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । विविध कार्यक्रमका साथ मनाइदैछ । सरकारले सार्वजनिक विदा नदिएपनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको छ । सिंहदरबारको मुख्यद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा सरकारी र नागरिक स्तरबाट माल्यार्पण गरेर पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विगतका वर्षहरु झै आज पनि भव्य रुपमा मनाइदैछ ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु, सचिवहरु, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायतका व्यक्तित्वहरुको उपस्थितिमा विशेष कार्यक्रम गरी मनाइने बताइएको छ ।
त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औँ पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाउन शुरु गरेका छन् ।
दिवसको सन्दर्भमा शुक्रबार ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक विचार गोष्ठी आयोजना गरिएको थियो भने शनिबार ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी आयोजना गरिएको थियो । आज शोभायात्रासहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको बताइएको छ ।
आइतबार साँझ नै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिने बताइएको छ ।
शुक्रबार आयोजित विचार गोष्ठीमा साहित्यकार मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहले सानो राज्यबाट अथक प्रयास गरेर हामीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको भन्दै योगदानको प्रशंसा गरे ।
जातजाति र सांस्कृतिक वातावरण बनाउँदै नयाँ सेना निर्माण गरी राज्य विस्तार गर्नुले दूरदर्शिता प्रष्ट हुने उल्लेख गर्दै कसैले बुद्धि, कसैले युद्ध त कसैले धर्ममार्फत मुलुक यहाँसम्म ल्याइपु¥याएको प्रश्रितले स्मरण गरे ।
कार्यक्रममा ‘पुथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा त्रिरत्न मानन्धरले आफ्नो अन्तिम समयमा पुथ्वीनारायण शाहले ‘यो राज्य दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ…’ भनेर छिमेकी दुवै देशसँगको सम्बन्ध राम्रो बनाउन खोजेको र आफ्नो भूराजनीतिको अवस्थाबारे स्पष्ट बोलेको तथ्यबाट प्रस्तुत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले राजाहरु सहअस्तित्व कायम गर्न जनताको सेतु भएको स्मरण गर्दै राष्ट्र एकीकरणको अभियानमा पृथ्वीनारायण शाहलाई जनताको भावना बुझ्ने राजाको रुपमा स्मरण गरेका छन् ।
त्यस्तै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती नागरिकस्तरबाट पनि भव्य रुपमा मनाउने गरिएको छ । पृथ्वीजयन्ती अभियन्ता भरत बस्नेतको अगुवाइमा हरेक वर्ष विविध कार्यक्रम गरी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ । यसपटक पनि आज विहान १० बजे डिल्लीबजारस्थित भोजनगृहमा हजारौ नागरिक भेला भएर बाजागाजासहित पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली हुँदै सिंहदरवारमा पुगेर पृथ्वीनारायणको सालिकमा श्रद्धासुमन चढाउने कार्यक्रम रहेको अभियन्ता बस्नेतले बताएका छन् ।
वाइसे चौविसे राज्यलाई एकीकरण गरी सिंगो नेपाल बनाएर विश्वसामु नेपालीहरुको बहादुरीलाई चिनाउने पृथ्वीनारायणको सम्मानमा राज्यले कुनै कन्जुस्याइ गर्न नहुने बस्नेतको तर्क छ । उहाँका सालिक बनाउने र दिव्यउपदेश पनि पालना गर्नुपर्ने उनको तर्क छ । ‘मेरो साना दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेताना भया’ भन्नुहुने पृथ्वीनारायण शाहमा व्यक्तिगत स्वार्थ थिएन, उहाँमा राष्ट्रभक्तिको भावना मात्र देखिन्छ, बस्नेत भन्छन् । बस्नेत भन्छन् “पृथ्वीनाराणले नेपालीहरुमा छाडेर गएका आतिथ्य सत्कार हामी कुनै हालतमा पनि बिर्सन सक्दैनौ । सबै भाषा, संस्कृति र परम्परालाई जोगाई राख्नू भनेर जानुभयो ।” ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन् ।’ भन्ने उहाँको उपदेशबाट पृथ्वीनारायण शाह भ्रष्टाचार विरोधी भएको प्रष्ट हुन्छ बस्नेत भन्छन् ।
आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
पृथ्वीनारायणको दिव्यउपदेश र उहाँको चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू–भागलाई जितेर काठमाडौ छिरेका पृथ्वीनारायणले काठमाण्डौको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यस क्षण काठमाण्डौको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनीतिहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू–भागहरु जितेका हुन् ।
पृथ्वीनारायणलाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । त्यसैले हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।
पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।
१८ औं र १९औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्यसैसमयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधुनिक नेपालमा इतिहासबिद्ध डि आर रेग्मीले लेखेका छन्, ‘पृथ्वी नारायण शाहको जीतको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले ससाना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिँदैन ।’
यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।
‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’
‘नेपाल दुई ढुङ्गाबिचको तरुल हो’
यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन् ।
सदन अनि सडक दुबैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई देश अनि देशबासीले भुल्न हुँदैन ।



















