काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरुबीच विस्वासको वातावरण बनाउदै औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सघन रुपमा सहकार्य गर्ने भएका छन् । बुधबार परिसंघमा भएको छलफलमा उद्योग सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीहरुका तर्फबाट परिसंघले प्रस्तुत् गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सघन सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
सचिव खतिवडाले एकलबिन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदण्ड सम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्ने लगायतका विषयमा मन्त्रालयले थप सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।
छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकार र उद्योगी व्यवसायीबीच विश्वासको वातावरण बनाउन आपसि छलफललाई निरन्तरता दिदै जाने बताउनु भयो ।
अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्प्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गर्नु भयो ।
अध्यक्ष मोरलेउद्योग विभागमा रहेको एकलबिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधिकरण र उद्योग सम्बन्धी कानूनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापनातथा सञ्चालनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले विशेष आर्थिक क्षेत्र सञ्चालन तथा अन्य औद्योगिक क्षेत्रमा उद्योग स्थापना तथा सञ्चालनमा देखिएका अवरोध हटाउन पहल भइरहेको जानकारी गराउनु भयो ।
उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि विभागले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताउनु भयो । उद्योग विभागमा रहेको उद्यमी सहजकर्ता सेण्टरको उपयोग गर्न पनि महानिर्देशक सिटौलाले आग्रह गर्नु भयो ।
सो अवसरमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, विष्णु अग्रवाल, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवाल र राजेश अग्रवालले उद्योग तथा लगानी विस्तारका विषयमा प्रस्तुती गर्दैैैै औद्योगिकीकरणको वातावरण बनाउन तत्कालिन तथा दीर्घकालीन रणनीतिहरु अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।