काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरमा ट्रफी अनावरण गरेका हुन् ।
ट्रफीको मुख्य आकर्षण कालापत्थरबाट ल्याइएको ढुंगा समावेश हुनुलाई लिइएको छ ।
प्रधानमन्त्री ओलीले ट्रफी अनावरण गर्दै नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताएका छन् । एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले सबैलाई शुभकामना दिँदै जितेपछि जित्नेलाई बधाई दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गर्दै सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको स्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले भने ‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन, गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’
अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।