काठमाडौँ, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना फैलाउने उद्देश्यले वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी समेटिएको पुस्तिका सार्वजनिक गरिएको छ ।
अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा ‘विल्डिङ एण्ड उड वर्कर्श इन्टरनेशनल’ (बिडब्लुआई) नेपालले सो पुस्तिका सार्वजनिक गरिएको हो । पुस्तिकामा वैदेशिक रोजगारको अवस्था, वैदेशिक रोजगारीमा जानु अगाडि ध्यान दिनुपर्ने विषय, विदेशमा रहँदा कसरी सुरक्षित रहनेलगायत जानकारी समेटिएको छ ।
यस्तै नेपालको सरकारी तथा गैरसरकारी निकाय, तिनले दिने सेवा, विदेशमा आइपर्न सक्ने समस्या, ती समस्याबाट बच्ने उपायका साथै कार्यस्थलमा श्रमिकले अपनाउनुपर्ने सजगताका विषय समेटिएको छ । जानकारीमूलक पुस्तिका पत्रकार सुनिल न्यौपानेले तयार पार्नुभएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिक, ट्रेड युनियन, वैदेशिक रोजगारीका बारेमा जान्न चाहने पाठक, यसको प्रक्रियागत व्यवसायमा संलग्न म्यानपावर, अभिमुखीकरण संस्था र सरकारी निकायलाई सो पुस्तिका उपयोगी हुने विश्वास गरिएको छ ।