मन्त्री मेहार्जी नेपाल आउन इच्छुक
ओमान । ओमान अधिराज्यका पर्यटन मन्त्री अहमद बिन नासेर अल मेहार्जी (Ahmed bin Nasser Al Mehrazi) लाई नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्घाटन कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिएको छ । नेपालका पर्यटन मन्त्री योगेश भट्टराईले पठाउनु भएको निमन्त्रणा पत्र नेपाली राजदूतावास ओमानका राजदूत सर्मिला पराजुली ढकालले मन्त्री मेहार्जीको कार्यकक्षमा भेट गरी मंसिर ५ गते हस्तान्तरण गर्नुभएको हो ।
उक्त अवसरमा मन्त्री मेहार्जी र राजदूत ढकालबीच नेपाल र ओमानबीच हुने पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौता पत्रमा पनि उक्त अवसरमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भएको ओमानका लागि नेपाली दूतावासले जनाएको छ ।
राजदूत ढकालले नेपालले आगामी बर्ष मनाउन गइरहेको नेपाल भ्रमण बर्ष २०२० को पृष्ठभूमि तथा तयारी बारे पनि मन्त्री मेहार्जीलाई जानकारी गराउनु भएको दूतावासले जनाएको छ ।
मन्त्री मेहार्जीले नेपाल जान आफू इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिवद्धता जाहेर गरेको राजदूत ढकालले बताउनु भएको छ ।
दूतावासका अनुसार भ्रमण वर्ष सफल बनाउन राजदूत ढकालले ओमानस्थित विभिन्न निकायहरुसँग पनि छलफल गरेको बताइएको छ । ओमानबाट बढीभन्दा बढी पर्यटक नेपाल पठाउन राजदूत ढकालले पहल गरिरहेको बताइएको छ । त्यहाँ रहेका नेपालीहरुलाई पनि राजदूत ढकालले पर्यटक पठाउन आग्रह गरेको बताइएको छ ।