काठमाडौं । २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर मृत्यु भएका र घाइतेहरुलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका सांसद तथा पूर्वमन्त्री आफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनेछेक बहसपछि शुक्रबार पछि ठहरेबमोजिम हुनेगरि पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।
जिल्ला अदालतको आदेशपछि आलम फैसला नभएसम्मका लागि थुनामा गएका छन् । तर उनीहरू त्यसविरुद्ध उच्च हुँदै सर्वोच्चसम्म जाने बाटो भने बाँकी रहेकाले पीडितहरु अझै त्रासमै देखिन्छन् ।
कतिपय हिन्दी चलचित्रमा अदालत जाँदा र आउँदा वा बजार घुम्दै गर्दा साक्षीहरु गोली खाएर मरेका दृश्यहरु देखाइन्छ । आलम पीडितहरु त्यस्तै आतंकित छन् । जिल्ला अदालतमा तत्काल वकपत्र गराइदिन राजपुर बम काण्डका साक्षी गौरीशंकर रामले माग गरेका थिए ।
अफ्ताव आलमका मान्छेले आफूलाई अपहरण गरेर जवरजस्ती कागजपत्रमा हस्ताक्षर गराउन सक्ने सम्भावना रहेको भन्दै सरकारसँग सुरक्षाको माग पनि गरेका थिए । आलमले नै बम बनाउन लगाएको र बम बनाउने क्रममा भएको विस्फोटमा रामका दुवै कान चुडिएका थिए । कैयन् ज्यूदा मानिसलाई इँटाभट्टामा लगेर पोलिएको प्रत्यक्षदर्शीका रुपमा उनी थिए । उनलाई अपहरण गरेर प्रमाण मेटाउन सक्ने सम्भावना प्रवल बनेपछि आलमले सजाय नपाएसम्म उनी प्रहरीको शरणमै बसेका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद आलमले आफ्ना सहयोगीमार्फत् मुख्य जाहेरीकर्ता र साक्षी धम्काएको पुष्टि भएपछि अदालतले त्यसलाई गंभिर रुपमा लिएको थियो ।
आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय, रौतहटले गरेको थियो । आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो । त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ ।
प्रहरीले घटनाका मुख्य अभियुक्त मोहम्मद अफताव आलम सहित मोहम्मद महताब आलम (फरार), मोहम्मद मोविन आलम (फरार), शेख भदई (फरार), शेख सेराज भन्ने शेष सर (फरार), शेख फजलेह (फरार) र सगिर आलम (फरार) लाई घटनालगत्तै परेको किटानी जाहेरीका आधारमा प्रतिवादी कायम गरेको छ। यसबाहेक घटना अनुसन्धानमा प्रत्यक्ष संलग्न देखिएका नयाँ अभियुक्तहरु शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ती साह कायम गरेको हो ।
आलमविरुद्ध सरकारी वकिल कार्यालयले ८ सय पृष्ठ लामो अभियोगपत्र दायर गरेको छ । आरोपत्रपमा तत्कालीन समयमा गरेको अनुसन्धानदेखि सर्वोच्च अदालतमा दायर भएका दुई मुद्दाको कुरा समावेश भएको छ ।