काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता हुनुहुन्थ्यो”, सिंहले भन्नुभयो ।
पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो ।
उहाँले दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको उल्लेख गर्नुभयो । वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको उहाँको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस संस्थागतरूपमा अगाडि बढ्न नसकेको बताउनुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले स्व सिंहजस्तै व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकता राखेमात्र देश विकास हुने बताउनुभयो । काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले गणेशमान सिंहले देखाएको बाटोलाई पार्टीले पछ्याउन नसकेको बताउनुभयो । उहाँले गणेशमान सिंह पदका लागि भन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने नेता भएको बताउनुभयो । कार्यक्रममा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।