काठमाण्डौ,शनिबार नेपालगञ्जबाट काठमाण्डौ उडान गर्न लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण उड्न ढिलाइ भएको भन्दै केही यात्रुले सँस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री योगेश भट्टराई गाली र दुव्र्यवहार गरेको भिडियोको यतीबेला सर्वत्र चर्चामा छ । मन्त्री भट्टराईकै कारण उडान एक घण्टा ढिला भएको भन्दै उनीहरुले दुव्र्यवहार गरेका थिए । जून विषयमा पक्ष र विपक्षमा यतीबेला बहस भइरहेको छ ।
एक घन्टा ढिलो गरिएको बताएर दुव्र्यवहार भएपनि नेपालगञ्ज विमानस्थलले भने १५ मिनेट मात्रै उडान ढिलाइ भएको जनाएको छ । मन्त्री भट्टराईले पनि आफ्नो कारण जहाज १५ मिनेट ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति काठमाण्डौ फर्किसकेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत क्षमायाचना गरेका छन् । काठमाण्डौबाट उडेको बुद्ध एयरको एटीआर ७२ विमान नेपालगञ्ज विमानस्थलमा सवा ६ बजे अवतरण भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलको रेकर्ड अनुसार सवा ६ बजे अवतरण भएको विमानले ७ बजेर ६ मिनेटमा उडान भरेको छ । विमान अवतरण भएपछि यात्रु र उनीहरुका ब्यागेज झार्न तथा फेरि त्यहाँबाट आउने यात्रु चढाउन र उनीहरुका ब्यागेज हाल्न कम्तीमा पनि आधा घण्टा हरेकजसो विमानमा लाग्ने गरेको विमानस्थलका कर्मचारी बताउँछन् ।
विमानस्थलका अनुसार शनिबार पनि सवा ६ बजे अवतरण भएको बुद्ध एयरको विमानले यात्रु झार्न र फेरि चढाउँदा बेलुकी झण्डै ६ बजेर ४५ मिनेट भैसकेको थियो । नेपालगञ्जबाट काठमाण्डौको उडान ६ः३० का लागि तोकिएको भए पनि जहाज अवतरण गर्नै ढिलाइ गरेपछि उडानको समय पनि पछि सरेको थियो ।
नेपालगञ्ज विमानस्थलका अनुसार मौसम खराबीका कारण काठमाण्डौबाट उडान भरेको विमान नेपालगञ्ज अवतरण गर्न ढिलाइ भएको थियो । काठमाण्डौबाट जहाजले उडान भरेपछि बोर्डिङ खुला गर्ने र काठमाण्डौबाट उडान भरेको जहाज नेपालगञ्ज अवतरण गर्न कम्तिमा ५५ मिनेट लाग्ने गर्छ ।
बाहिर भनिएजस्तो विमान उड्न एक घण्टा ढिला भएको नभइ मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।‘यात्रुहरुलाई चढाउन र सामान लोड गरेर पौने सात बजेतिर सकिएको र मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको हो’, विमानस्थल स्रोतले भन्यो, ‘टावरकै रेकर्डमा पनि नेपालगञ्जबाट काठमाण्डौ ७ बजेर ६ मिनेटमा जहाज उडेको छ ।’
दिउँसो भएको भए उडानमा ढिलाइ नहुने भन्दै अन्तिम उडान भएको र अर्को विकल्प पनि नभएकाले मन्त्रीलाई १५ मिनेट कुर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ ।
मन्त्रीले खजुरा आइपुगेको र केही समय पर्खन भनेकाले उडानको अरु विकल्प नहुँदा १५ मिनेट मात्रै पर्खिएको विमानस्थलले जनाएको छ । मन्त्री भट्टराईले आइतबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसैका कारण पनि आफू काठमाण्डौ फर्कनैपर्ने दबाबमा रहेकाले बुद्ध एयरसँग आग्रह गरेर केही समय मात्रै उडान ढिला भएको स्पष्ट पारेका छन् ।
मन्त्री भट्टराई कैलालीको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सवको कार्यक्रममा सहभागी भएर फर्कँदा ढिलाइ हुन पुगेको थियो ।
विमानभित्र कसैले पनि हुलदंगा गर्न पाँइदैन । सुरक्षाको दृष्टिकोणले यो निकै संवेदनशील विषय हो । तर, नेपालका लागि नेपाली भन्ने अभियानका नाममा विभिन्न गतिविधि गर्दै आएको एक समूहले मन्त्री भट्टराईमाथि १५ मिनेट ढिलो हुँदैमा दुव्र्यवहार गरेको थियो । दुव्र्यवहार गरेर भिडियो समेत खिचिएको थियो। जसले घटना नियोजित जस्तो देखिन्छ । केही समययता अजराक गतिविधिमा संलग्न ज्ञानेन्द्र शाहीको समूहले त्यसरी दुव्र्यवहार गरेर भिडियो खिची सार्वजनिक गरेको थियो ।
भिआईपीहरुले उडानमा ढिलाई गर्ने गम्भीर रोग नेपालमा देखिएको छ । यसमा सुधार गर्नै पर्छ । यस्तो कमजोरीको फाईदा उठाउँदै अर्काे समूहले फाइदा उठाउन थालेको छ ।