जुम्ला । माहुरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन् । एकाएक माहुरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् । महको बजार अभाव नभएको र माहुरीका गोलाको समेत माग अत्यधिक रहेका बेला एकाएक माहुरी मर्न थालेपछि समस्या भएको चन्दननाथ नगरपालिका–५ का कृष्ण बुढाले बताउनुभयो ।
“दिन प्रतिदिन माहुरी मर्दै गएका छन । कृषि प्राविधिकलाई सोध्दा बालीनाली तथा फलफूलमा विषादीको प्रयोगले माहुरी मर्ने गरेको बताएका छन्,” बुढाले भन्नुभयो ।
जुम्लालाई जिल्ला परिषद्बाट विषादी प्रयोगरहित घोषणा गरिएको थियो । तर, त्यसको कार्यान्वयन नहुँदा विषादीको प्रयोग नघटेको उहाँको भनाइ छ । पराम्परागत रूपमा माहुरीपालन गर्दै आएका उहाँले १० वटा आधुनिक घार पनि राख्नु भएको छ । हरेक दिन घार बाहिर मरेका माहुरी भेटिन थालेको उहाँको भनाइ छ । ‘दिनदिनै मरेका माहुरी देखिन्छन् । घार रित्तिँदै गएको छ,’ बुढाले दुःखेसो पोख्नुभयो ।
वातावरण विनाशसँगै माहुरीको चरन क्षेत्र घट्दै गएको अर्का माहुरी किसान सरोज शाहीले गुनासो गर्नुभयो । झन् त्यसमा बालीनालीमा विषादी प्रयोग हुन थालेपछि समस्या भएको उहाँको भनाइ छ । ‘धान खेतमा अत्यधिक विषादी प्रयोग भइरहेको छ । जसले गर्दा माहुरी पानी खान गएपछि मर्ने गरेको छ,’ उहाँले भन्नुभयो ।
सेरेना जातको माहुरीका लागि जुम्लाको हावापानी उपयुक्त मानिन्छ । यहाँ भौगोलिक अवस्था र चरन क्षेत्र पर्याप्त रहेको छ । जसले गर्दा महको उत्पादन बढ्दै आएको थियो । कृषि विकास कार्यालयका अनुसार, आर्थिक वर्ष ०७२÷७३ मा दुई हजार पाँच सय किलोग्राम मह उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३÷७४ मा दुई हजार आठ सय किलोग्राम उत्पादन भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष ०७४÷७५ मा दुई हजार एक सय किलोग्राम मह उत्पादन भएको तथ्याङ्क छ । अझै पनि जुम्लामा माहुरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाको भनाइ छ । जिल्लाको विभिन्न भागमा परम्परागत र आधुनिक घारमा किसानले माहुरीपालन गर्दै आएका छन् । माहुरी जोगाउन विषादीको प्रयोग रोक्नुपर्ने उहाँको भनाइ छ । रासस