रामेछाप । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकमा कम्युनिष्ट पार्टीको एकता भएको र उसको नेतृत्वमा सरकार चलेको देख्न नचाहनेले कुनै न कुनै रुपमा विरोध गर्न खोजे पनि आफूहरुले चुनावको समयमा जनताका सामु गरेका वाचा पूरा गरेरै छाड्ने बताउनुभएको छ ।
जिल्लास्तरका अगुवा कार्यकर्तासँग मन्थलीमा भएको अन्तक्र्रियामा मन्त्री विष्टले मुलुक लामो समयदेखिको विकासबाट वञ्चित तथा बेथितीबाट ग्रसित रहेकाले रातारात परिवर्तन र विकास नदेखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले जनतामा परिणाम दिने गरी काम गरिरहेको छ । हामी आगामी निर्वाचनसम्ममा गत निर्वाचनमा हामीले गरेका वाचा पूरा ग¥यौँ भनेर बुँदागत रुपमा राख्न सक्ने गरी काम गरिरहेका छौँ ।”
कार्यकर्तालाई जनताका बीचमा गएर सरकारले चुनावी प्रतिवद्धता पूरा गर्ने सन्देश लैजान मन्त्री विष्टले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको मन खुम्च्याउन नपाउने र कार्यकर्ताको शीर नझुक्ने गरी सरकारले काम गर्नेछ । यो सरकारले देश र जनताको अहितमा कुनै काम गरेको छैन । गर्दैन पनि ।” अन्तक्र्रियामा नेकपाका जिल्ला नेताहरु आनन्द श्रेष्ठ, प्रकाश कार्की, नगरपालिकाका उपप्रमुख माया कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री विष्टले जिल्लास्थित प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गर्नुभएको थियो ।