बेझाड, नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न थालिएको हो ।
जिल्लाकै यो पहिलो व्यावसायिक अलँैची खेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरी यस वर्ष १५ हजार अलैँचीका बिरुवा कृषकलाई निःशुल्क उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कृषि शाखाको रु एक लाख र गाउँपालिकाको रु ३५ हजार रकम पकेट क्षेत्रमा विनियोजन गरी बिरुवा तथा रोपण गरिएको कृषि शाखा प्रमुख नवराज घिमिरेले बताउनुभयो । “उपयुक्त भौगोलिक भू–बनोट, हावापानी रहेकाले खाँदर क्षेत्रलाई अलैँची पकेट क्षेत्रका रुपमा घोषणा गरेपछि व्यावसायिक उत्पादनतर्फ कृषक आकर्षित बनेका छन्”, उहाँले भन्नुभयो । यहाँका ६५ घरधुरीका कृषकले अलैँची खेती गरेका छन् ।
यसभन्दा अगाडि स्थानीय तुलबहादुर बयम्वुले भने तीन वर्षअघिदेखि व्यावसायिकरूपमा अलँैची खेती गर्दै आउनुभएको छ । गतवर्ष अलैँची बिक्रीबाट रु एक लाख ५० हजार जति आम्दानी गर्न सफल हुनुभएको छ । तीन वर्षअघि इलाम भ्रमणमा जानुभएका बयम्बुले एक अलैँचीको बिरुवा ल्याएर पाखोबारीबाट अलँैची खेती शुरु गरेको उहाँ बताउनुहुन्छ । बयम्बुले करीब नौ रोपनी खेर गएको पाखोभरी अलँैची लगाएर ढाक्नुभएको छ । लगानी कम लाग्ने भएपछि अलँैचीको व्यावसायिक खेती बढाउदै जाने उहाँको भनाइ छ ।
यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यसभन्दा अगाडि कसैलाई पनि जानकारी थिएन । बयम्बुले लगाएको अलँैचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रुपमा विस्तार गरेको हो । गाउँपालिकाले २०० रोपनी क्षेत्रफलमा अलैँची विस्तार गर्ने योजना बनाएको छ । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि दुई हजार २०० मिटरसम्मको उचाइ, आठदेखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलीमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ ।
नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ । अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानका लागि यो बरदान सावित भएको छ ।
अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ । मध्यपहाडी, धेरै गर्मी नहुने, कागती, सुन्तला उत्पादन हुने क्षेत्रमा अलैँचीको व्यावसायिक खेती राम्रो मानिन्छ । अलँैचीको बजार अन्तर्राष्ट्रिय भएकाले दुई वर्षयता राम्रो मूल्य पाउन नसकिरहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । “माथिल्लो उच्च क्षेत्रमा खेर गएका जमीनमा अलैँची लगाएर कृषकले राम्रै आम्दानी गर्न सक्छन्, यसको प्रवद्र्धनका लागि सम्बन्धित स्थानीय तहले कदम चाल्नु आवश्यक छ”, प्रमुख अर्यालले भन्नुभयो ।
भारत हँुदै अरब मुलुकमा निर्यात हुने भएकाले मूल्यमा उतारचढाव आइरहेको हुन्छ । राम्रो मूल्य रहेका बखत दुई हजारदेखि दुई हजार ५०० सम्ममा प्रतिकिलो अलैँची बिक्री हुने गरे पनि अहिले भने बजारमा एक हजारको हाराहारीमा बिक्री हुुने गरेको पाइएको छ । बिरुवा लगाएको एकदेखि डेढ वर्षपछि मात्रै उत्पादन लिन सकिन्छ । दुई दशकभन्दा अगाडि जिल्लाको साविक कसेनीगाउँ विकास समिति वलेशका कृषकले अलँैची खेतीबाट राम्रै आम्दानी गरेका थिए ।
एकाएक बोटमा विभिन्न रोगहरु लाग्न थालेपछि जिल्लामै पूर्णरूपमा लोप भइसकेको थियो । त्यस समयमा गाउँका धेरै कृषकको आम्दानीको स्रोत नै अलँैची खेती थियो । एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्ने गर्थे । सम्बन्धित निकायबाट बेवास्ताका कारण अलँैचीले भरिएका जग्गा वनमाराले भरिन पुगेका छन् । जिल्लाको ठिमुरे, कुसुमखोला, रुप्सेलगायतका १० भन्दा बढी साविक गाविसको उत्तर फर्किएको, ओसेप भएको जमीनमा खेती गर्न सकिने भए पनि त्यसतर्फ ध्यान जान नसक्दा लोप हुनपुगेको हो ।
इलाम र तेह«थुम जिल्लामा प्रसिद्धी कमाएको अलैँची खेती यस क्षेत्रमा पनि गर्न सके आयआर्जन बढाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । अम्रिसो खेतीले चिनिएको झिरुवासको खाँदर क्षेत्रलाई अब अलँैची खेतीले चिनाउन सके यो क्षेत्र उत्कृष्ट पर्यटकको गन्तव्यस्थल बन्नेछ ।
अलैँचीको प्रयोग
अलैँची एउटा मसला बाली भएकाले प्राचीन समयदेखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिँदै आएको छ । यसको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बियाँ पानसँग पान मसालाको रुपमा खाइन्छ । आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनीपलक सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ । अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटीको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैँचीको प्रयोग गरिन्छ ।
सौन्दर्य प्रशोधनहरू निर्माण गर्न शरीरमा उष्णता थप्न र यौनशक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिको रुपमा अलैँचीको प्रयोग गरिन्छ । चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाइ लागेको लुतो हैजा वा अरु कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक, अदाहा र नसासम्बन्धी रोग, मूत्ररोग आदि रोगको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ । अन्य खेतीको लागि काम नलाग्ने जग्गामा पनि अलैँची खेती गर्न सकिन्छ । अलैँची खेतीले भू–क्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउ पु¥याउँछ ।
–सुशीला रेग्मी