काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले राज्यका तीन अंगबीचको सन्तुलन कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक प्रणालीमाथि चुनौती थपिएको दाबी गरे।
पोखरेलले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन खल्बल्याउने प्रयास भइरहेको आरोप लगाए। उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुन नपर्ने किसिमको राजनीतिक परिपाटी विकास गर्न खोजिएको समेत टिप्पणी गरे।
उनले सर्वोच्च अदालतको नेतृत्वसमेत राजनीतिक प्रभावमा ल्याउने प्रयास भइरहेको आरोप लगाउँदै अदालतको नेतृत्व “गोजीबाट निकाल्ने प्रयत्न” भएको बताए।
महासचिव पोखरेलले पपुलिज्मको आवरणमा अधिनायकवाद मौलाउन खोजिरहेको भन्दै त्यसको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
उनले भने, “कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलन खल्बल्याउने काम भइरहेको छ। प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ। यस्तो अवस्थामा युवाहरू पपुलिज्मको आवरणमा हुर्किरहेको अधिनायकवादविरुद्ध संगठित र आन्दोलित हुन आवश्यक छ।”
पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) लाई आन्दोलनको वैचारिक मार्गदर्शन बनाउनुपर्ने पनि बताए।
कार्यक्रममा उनले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथिसमेत प्रश्न उठाए। मन्त्रीहरूले सुनमा लगानी गरेको विषयप्रति आपत्ति जनाउँदै उनले “केमा लगानी गर्ने भन्ने थाहा नभएका मानिसले मुलुकको विकास गर्न सक्छन् ?” भन्दै प्रश्न गरे।




















