काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन्।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले वर्तमान राष्ट्रिय राजनीति जटिल मोडतर्फ गइरहेको बताएका हुन्।
ज्ञवालीले नयाँ सरकार गठन भएको करिब ५० दिनमै लोकतान्त्रिक मूल्य, मान्यता र संस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको दाबी गरे। उनले ट्रेड युनियन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने प्रयास, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति तथा सुकुमवासीमाथि भइरहेको ‘डोजर आतंक’ले मुलुकलाई अधिनायकवादी दिशातर्फ धकेलिरहेको आरोप लगाए।
उनले संसद्, राष्ट्रपति तथा संवैधानिक आयोगजस्ता निर्वाचित संस्थाहरूको अवमूल्यन भइरहेको पनि बताए।
ज्ञवालीले भने, “देशको राजनीति अफ्ठ्यारो मोडमा पुग्दै गरेको देखिन्छ। सरकार बनेको छोटो अवधिमै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठ्ने गतिविधि भएका छन्। संसद्, राष्ट्रपति र न्यायालयजस्ता संस्थाको अवमूल्यन हुँदै गएको छ, जसले निर्वाचित अधिनायकवादतर्फ मुलुक अघि बढ्न खोजेको संकेत देखिन्छ।”
उनले संसद्मा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर रहे पनि संविधानको रक्षा, लोकतन्त्रको संरक्षण र सामाजिक न्यायको पक्षमा जनता, सञ्चारमाध्यम तथा नागरिक समाजले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।




















