जनप्रतिनिधिलाई दम्भ त्याग्न आग्रह
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एकजुट हुन आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समितिले आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाको वार्षिक समीक्षा गोष्ठीमा उहाँले संविधानले व्यवस्था गरेको नीतिलाई मान्दिन भन्ने र जिल्ला समन्वय समितिलाई स्वीकार्दिन भन्दै विकासमा समन्वय नगर्ने जनप्रतिनिधिले दम्भ त्याग्नुपर्ने बताउनुभयो ।
सांसदसमेत रहनुभएका बस्नेतले भन्नुभयो, “संविधानले गरेको व्यवस्थालाई स्वीकार्दिन भन्ने, आफूलाई सधैँका लागि जनप्रतिनिधि भएको दम्भ नगर्नुस्, यो पद पाँच वर्षका लागि हो, पाँच वर्षपछि चप्पल पड्काउने कि ? पालिसले छाला जुत्ता टल्काउने ? त्यो तपाईको आफ्नै हातमा छ ।” उहाँले स्थानीय विकास आफ्नै लागि भएकाले विकासमा साझेदारी समन्वय र सिर्जनशील भएर लाग्न आग्रह गर्नुभयो ।
पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका उहाँले स्थानीय तहमा जनप्रतिनिधिले स्थानीय अभ्यासलाई आधार बनाएर राष्ट्रिय नीति परिवर्तन गर्नेसम्मका लागि नीतिगत परिवर्तन गर्ने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । स्थानीय तहको विकासमा उपयुक्त विधि र नीति आफैँ बनाएर स्थानीय तह अघि बढ्न तथा समृद्ध भक्तपुर बनाउन सबै जनप्रतिनिधि एवं कर्मचारीले लाग्नुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले जिससको समीक्षा गोष्ठीमा भाग नलिएर राम्रो नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समीक्षा गोष्ठीमा नआउने स्थानीय तहले कि तर सरकार र संविधानलाई टेरेनन्, कि त कामै गरेनन् भन्ने बुझ्नुपर्छ, यस्तो अवस्था किन सिर्जना हुन्छ ।”
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले स्थानीय तहको विकासका अवधारणाका बारेमा चर्चा गर्नुभएको थियो । सीमक्षा गोष्ठीमा जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी संस्थाले आव २०७५÷७६ मा गरेका काम र आम्दानी तथा खर्चको विवरण पेश गरेका थिए । रासस