मार्तडी, जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगङ्गा नदीका बाजुराको ताप्रीसेरा, द्वारी, तिपाडा, रापकका झोलुङ्गे पुल जोखिममा छन् । नदीका कारण छिमेकी जिल्ला अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् ।
जिल्लाको पूर्वी–उत्तरी भेगमा पर्ने कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । बुढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गेसम्म पानी पुगेपछि स्थानीयवासीले आवतजावत नै बन्द गरेका छन् । पुल पनि जीर्ण बन्दै गएको छ, नदी बढेर पुलसम्म पुगेपछि आवतजावत नै बन्द भएको स्थानीयवासी धन जैशीले बताउनुभयो ।
त्यस्तै बुढीगङ्गा नगरपालिका–२ ताप्रिसेराबाट त्रिवेणी नगरपालिका–९ बाँगापाटा जोड्ने पुल पनि पानीको बहाव बढेपछि पानी पुलसम्म आउनसक्ने भएकाले आवतजावत गर्न निकै जोखिम रहेको गोपाल थापाले बताउनुभएको छ ।
कर्णालीको पिलीचौरमा रहेको झोलुङ्गे पुल सधैँको वर्षात्को समयमा जोखिममा पर्ने गरेको छ । पुलसँगै जोडिएका आठ परिवार पनि विस्थापित भएका छन् । पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा रहेको स्थानीय गङ्गराज गिरीले बताउनुभयो । कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।
यस्तै वाई–बाँधु जोड्ने पुल, गोत्री–साप्पाटा पुल, हिमाली गाउँपालिकाको रुगिन–मुगु, बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाँउपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभएको छ । उहाँले पुलसमेत छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका स्वामीकार्तिक गाउँपालिकामा रहेका वाइ, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित बनेको छ ।
त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् । अछाम, बाजुरा जोड्ने इकडीगाड पुल, सेरामा रहेको बुढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुलीखोला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।
खोलामा आवतजावत गर्न अन्य विकल्प नभएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको गौमुल गाउँपालिकाका–२ का स्थानीयवासी धर्मबहादुर बोहराले बताउनुभयो । जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ झोलुङ्गे पुल छन् । दशकाँै पुराना र थोत्रा झोलुङ्गे पुल वर्षात्को समयमा बाढीपहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।
चार वर्षअघि केन्द्रबाट विज्ञहरुको टोली आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको सङ्केतसमेत लगाएर गएका थिए । जिल्ला विकास समितिले स्थानीयवासीलाई पुल संरक्षण व्यक्ति भनेर तोक्ने गरेको छ । उनीहरुलाई वर्षेनी रु ८८ हजार २०० खर्च गर्ने गरेको छ । पुल जीर्ण भएको जिल्लादेखि केन्द्रसम्म जानकारी भए पनि मर्मतका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयवासीले आरोप लगाएका छन् । रासस