काठमाडौँ महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारका लागि महिलाले एकीकृत संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।

महिला सुरक्षा दबाब समूह नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ बिहिबार आयोजित कार्यक्रममा मन्त्री थापाले महिलाको सवालमा संविधानमा प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अन्य अधिकार प्राप्त गर्न एक जुट हुनुपर्नेमा जोड दिनुभयो । “राजनीतिक रुपमा महिलाका केही अधिकार प्राप्त भएका छन्, त्यसलाई सकारात्मक रुपमा लिँदै नीति निर्माणलगायत राज्यका सबै तहमा समान सहभागिताका लागि अझै संघर्ष पुगेको छैन”, उहाँले भन्नुभयो ।

महिलाका बारेमा भएका विभेदपूर्ण कानूनको खारेज गर्दै समतामूलक कानूनको निर्माण, आमाको नामबाट नागरिकता पाउनुपर्ने सवाल र महिला हिंसा विरुद्दको अभियानमा मन्त्रालयले सक्रियताका साथ काम गरिहेको मन्त्री थापाले जानकारी दिनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संविधानमै व्यवस्था गरिएको समानुपातिक समावेशी सिद्धान्तलाई राज्यले स्वीकार नगरिरहेको सन्दर्भमा त्यसको विरुद्दमा सम्पूर्ण उत्पीडित समुदाय एक जुट हुनुपर्छ भन्नुभयो

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी र राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले सबै संरचनामा महिलाको सहभागिताको लागि नीतिगत व्यवस्था हुनुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा पहिलो महिला प्रहरी चैतमाया डङ्गोल र माटो विशेषज्ञ दिव्यलक्ष्मी बज्र्राचार्यलाई सम्मान गरिएको थियो ।
रासस