काठमाडौँ, नेपाल भ्रमण वर्ष २०२० को अभियानबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी गराइको छ । हिमालयन ट्राभल मार्टको जारी सम्मेलनमा आज भएको अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया सम्मेलनमा भ्रमण वर्षको सन्दर्भमा गरिने गतिविधि तथा नेपाल गन्तव्यबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको हो ।
सम्मेलनमा विभिन्न मुलुकका ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिको सहभागिता थियो । भ्रमण वर्ष अभियानको राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले अभियानबारे प्रस्तुति गर्दै अभियानअन्तर्गत, साहसिक, पर्यटन, धार्मिक पर्यटन, ‘माइस टुरिज्म’ प्रवद्र्धनका साथै अन्तर्राष्ट्रियरुपमा गरिने विभिन्न कार्यक्रमबारे जानकारी गराउनुभयो । उहाँले पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको तथा पर्यटकीय क्षेत्र तथा सांस्कृतिक सम्पदा सुरक्षित र आकर्षक गन्तव्यका रुपमा रहेको सन्देश विश्व बजारलाई प्रवाह गर्न सम्मेलन उपयोगी हुने उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भ्रमण वर्ष अभियन विश्वमा प्रवद्र्धनका साथै नेपाल पर्यटनका लागि सुरक्षित र आकर्षक गन्तव्य रहेको सन्देश प्रवाह गर्न सम्मेलन फलदायी भएको बताउनुभयो ।
बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले संयोजन गर्नुभएको कार्यक्रममा ब्लर्गस लेक्स लिम्बु, नेशनल जोग्राफी मिडियाका प्रतिनिधि नोराइ क्विन्टोसले ब्लर्गसको विश्वव्यापी अभ्यासबारे जानकारी गराउनुभएको थियो । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । बोर्डका सन् २०१८ मा १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
बिटुबी सम्मेलन शुरु
मार्टको तेस्रो दिन आजदेखि व्यवसायीसँग व्यवसायी (बिटुबी) सम्मेलन शुरु भएको छ । बिटुबीमा ३० मुलुकबाट विश्वव्यापी ५८ क्रेता कम्पनी र छ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ बिक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएका छन् । सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अन्तरदेशीय पर्यटन व्यवसायीको जमघट हुने सम्मेलनले व्यापार विस्तार तथा आफ्नो मुलुकको गन्तब्य प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको मुलुकको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि सरकारले उच्च प्राथमिकता दिएर पूर्वाधार विकास तथा सेवा गुणस्तरलाई विशेष ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो । सहभागीले अन्तरदेशीय पर्यटन व्यापार प्रवद्र्धनका साथै सम्पर्क सञ्जार विस्तारमा टेवा पुग्ने अयोजक प्यासिफिक एशिया ट्रावल एशोसियशन (पाटा) महासचिव विभूतिचन्द्र ठकुरीले जानकारी दिनुभयो ।
नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ अयोजना गरिएको मार्टमा नेपालसहित ४३ देशका करीब ७०० जनाको सहभागिता छ । मन्त्रालय, बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाको सहयोग, समन्वय तथा सहकार्यमा पाटाले सो ‘मार्ट’ आयोजना गरेको हो ।