काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियम लगानीमैत्री बनेका छन्, लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आऊन्, लगानी गरुन् भन्ने हाम्रो आग्रह छ ।” उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण आवश्यक रहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।
उहाँले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसिसी) सम्झौताबाट नेपालले धेरै लाभ लिने बताउँँदै त्यसका लागि धन्यवाद दिनुभयो । नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धि हो, नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौँ ।”
भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मूल्य र मान्यतामा आधारित रहेको बताउनुभयो । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँदै उहाँले नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वका बारेमा निर्णय लिन सकोस् भन्ने अमेरिकाको धारणा रहेको बताउनुभयो ।

























