सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र समाजप्रति इमान्दार रहनुपर्ने बताउनुभएको छ । ‘एकाउन्टबिलिटी ल्याब नेपाल’द्वारा आज यहाँ आयोजित ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ प्रदान कार्यक्रममा उहाँले कर्मचारीले देशप्रति इमान्दार तथा समाजप्रति जिम्मेवार र उत्तरदायित्वलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो ।
उहाँले देश निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले आफ्नो सेवाप्रति पनि लगनशील हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री पण्डितले कर्मचारीले इन्टेग्रिटी आइडल पाउनुले निराशाभित्र पनि आशाका किरण रहेको भन्दै कर्मचारीमा देशलाई बिर्सेर व्यक्तिगत चाहना पूरा गर्ने प्रवृत्ति रहेको बताउनुभयो ।
“कर्मचारी जनताको कामभन्दा आफ्ना निजी कामका बढी तल्लीन हुने गरेर देश बिर्सने प्रवृत्ति रहेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो प्रवृत्ति त्यागी देशप्रति कर्तव्यनिष्ट र इमान्दार कर्मचारी हुनु आवश्यक छ ।” उहाँले आइडल भएका कर्मचारीलाई सरकारले पनि चाँडै सम्मान गर्ने बताउनुभयो ।
ल्याब नेपालले आज सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच उत्कृष्ट कर्मचारीलाई आज आइडल प्रदान गरेको हो । सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, बर्दियाका प्रजिअ रामबहादुर कुरुङवाङ र वीरेन्द्रनगर नगरपालिकाका नगर स्वास्थ्य कार्यालयमा कार्यरत अनमी सीताकुमारी शर्मालाई मन्त्री पण्डितले ‘आइडल’ प्रदान गर्नुभएको हो ।