प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिनुभएको छ ।
काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले शुरु गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको हिजो जति आवश्यकता थियो आज पनि त्यतिकै आवश्यक रहेको बताउनुभयो ।
मुलुकमा भएका सबै ठूला राजनीतिक परिवर्तन राष्ट्रिय एकताका आधारमा सफल भएको बताउँदै उहाँले राजनीतिक दल र नागरिक बुद्धिजीवीको बीचमा एकता नभई राजनीतिक स्थिरता र विकास नहुने उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “हामीले मिलेरै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥यायौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ, निर्वाचन ग¥यौँ र अब मिलेर नै संविधानको मर्म र भावनाअनुसार जनताको चाहनाअनुसार विकास र समृद्धिको नयाँ यात्रातिर जानुछ, त्यसका लागि पनि राष्ट्रिय एकता आवश्यक छ ।”
कार्यक्रममा काङ्ग्रेस सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले चियापान कार्यक्रम अग्रज नेता बिपीले शुरु गर्नुभएको र पार्टीका लागि ऐतिहासिक महत्वको भएको बताउनुभयो । उहाँले भोलिको नेपाल शान्तिपूर्ण, भेद्भावरहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा गतिशील होस् भनी शुभकामना दिनुभयो । सभापति देउवाले मुलुकमा सहमति, सहकार्य र मेलमिलापको सधँै आवश्यकता रहिरहने र त्यसका लागि सत्तापक्षले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले सहकार्यको संस्कृतिलाई विकास गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसबीचमा आफूले राष्ट्रिय राजनीतिमा प्रतिपक्षी दल खोजिरहेको थिए, कता हरायो भन्ने लागेको थियो तर सानेपा (काङ्ग्रेस केन्द्रीय कार्यालय) आउँदा भने भव्यरुपमा चियापान कार्यक्रमको आयोजना गरिरहेको पाए, खुशी लाग्यो ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको हितका लागि मेलमिलापको संस्कृति अझ अगाडि बढेर जानुपर्ने बताउँदै नेपालको राजनीतिक र भौगोलिक परिस्थितिअनुसार मेलमिलाप सधैँ आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुभकामना कार्यक्रम सकारात्मक संस्कृति हो भन्दै यसले आफन्तपन र सहकार्यको विकास गर्न योगदान पु¥याउने उल्लेख गर्नुभयो । उहाँले अहिले मुलुक राजनीतिक परिवर्तनको उपलब्धिपछि समृद्धिको नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा यस्ता कार्यक्रमले भिन्नताका बीच पनि एकताबद्ध भएर आर्थिक विकास र समृद्धितर्फ सहयोग गर्ने वातावरण बनाउने बताउनुभयो ।भीष्मराज ओझा