काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६औं वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आज सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् ।
उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसदमा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार १८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्छ्योट गरिएको जानकारी गराएका छन् ।
वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मंसिर २३ गते सकिँदैछ ।
उनीहरुको कार्यकाल सकिएसँगै हालै नियुक्त भएका प्रमुख आयुक्त डा. सुरेश आचार्य, आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीले सम्हाल्ने छन् ।