सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डिजिटल कनेक्टिभिटीमा साझा अवधारणाका साथ अघि बढ्ने बताउनुभएको छ ।
भारत सरकारको सञ्चार मन्त्रालयको निमन्त्रणामा नयाँ दिल्लीमा यही कात्तिक ८ देखि १० गतेसम्म आयोजित भारतीय मोबाइल कङ्ग्रेस –२०१८ र मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दक्षिण एशिया र दक्षिण पूर्वी एशियाको गौरवपूर्ण इतिहास, ज्ञानले भरिपूर्ण पूर्वीय दर्शनको विस्तारमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसका लागि प्रविधिको उच्चतम उपयोग गरिनेछ भन्नुभयो ।
सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालमा लामो संक्रमणकालपछि राजनीतिक स्थायित्व आएको र स्थिर सरकार बनेको अवस्थामा अबको नेपालको यात्रा “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने रहेको बताउँदै यसमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभएको थियो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) र आसियनका सञ्चारमन्त्रीहरु सहभागी रहेको उक्त सम्मेलनमा मन्त्री बाँस्कोटाले विपद् व्यवस्थापनका लागि क्षेत्रीय रुपमा साझा कार्ययोजना बनाइ यस क्षेत्रको डिजिटल डिभाइडलाई कम गर्न र हरित सूचना प्रविधिको विकास तथा विस्तार गर्न एवम् यस क्षेत्रमा क्षमता अभिवृद्धि गर्न सहकार्य गर्नुपर्नेलगायत विषयमा धारणा राख्नुभएको थियो ।