नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको थियो ।
महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको समाचार आजको कारोबारमा छापिएको छ ।
व्यवसायीसँग अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि त्यसविपरीत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने दुई दिनअघि नै जानकारी गराइसकेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।