काठमाडौं कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको प्रमाण समेत प्रहरीकै संलग्नतामा नष्ट भएको तथ्य उजाएर भएसँगै नेपाल प्रहरीले डिआईजीको संयोजकत्वमा नयाँ समिति बनाएको छ ।
भर्खरै मात्र एआइजीमा बढुवा सिफारिस भएका डिआइजी धिरु बस्नेतको संयोजकत्वमा निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको हो । लामो समय पश्चिम क्षेत्रमा काम गरेका तथा सो क्षेत्रमा भिजेका डिआईजी बस्नेतलाई कञ्चनपुर घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी तोकिएको हो ।
यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाए पनि परिवर्तित अवस्थामा समितिलाई अपग्रेड गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जनाए ।
डिएनए परीक्षणका क्रममा प्रहरीले उभ्याएको अभियुक्त फर्जी भएको प्रमाणित भएको र गृहमन्त्रालयले दुई डिएसपीसहित थप पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेपछि अनुसन्धानलाई अझ तीव्र र गहन बनाउन डिआइजी बस्नेतको संयोजकत्वमा नौ सदस्यीय समिति प्रहरी प्रधान कार्यालयले बनाएको जनाइएको छ ।
बस्नेतलाई केही दिन पहिले मात्रै एआईजीपीमा बढुवाका लागि सिफारिस गरिएको भएपनि मन्त्रिपरिषदबाट निर्णय हुन भने बाँकी छ ।