२०७५ साउन ८ गते राती ३ः३० बजे मलगायत ४ जना पत्रकारसहित नेपाली सेनाका राष्ट्रसेवक अधिकृत र सिपाहीसाथ संयुक्त राष्ट्रसंघको चार्टर विमानमार्फत् नयाँदिल्ली हँुदै युगान्डाको इन्तेवे पुगियो । त्यहाँ जानुको हाम्रो प्रमुख उद्देश्य तथा मिसन थियो, संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकहरूमा सञ्चालन गरेको शान्तिका प्रयासहरूको अवलोकन भ्रमण गर्ने । यो अवसर जुटाइदिएको थियो नेपाली सेनाले । नेपाली सेना एउटा यस्तो गौरवशाली सुरक्षा संयन्त्र हो जसले विश्वमा नेपाल राष्ट्रको मान, सम्मान, इज्जत र गौरव बढाएर संयुक्त राष्ट्रसंघका साथै द्वन्द्वग्रस्त मुलुकको पनि मन जित्ने सफलता प्राप्त गरेको छ । संयुक्त राष्ट्रसंघले विश्वमा शान्ति स्थापनार्थ खटाउने प्रमुख देशहरूमध्ये नेपाल छैटांै स्थानमा पर्छ । सोहीअनुरूप मलगायत अन्य पत्रकार साथीहरूलाई प्रजातान्त्रिक गणतान्त्रिक अफ कङ्गो भ्रमण गर्ने अवसर जुटाइदिएकोमा म नेपाली सेनालाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।
पृष्ठभूमि
अफ्रिका महादेशको मध्य भागमा रहेको यो देश क्षेत्रफलका आधारमा विश्वका दश ठूला देशहरूमध्ये एक हो । यो देशमा ७० प्रतिशत रोमन क्याथोलिक धार्मिक समुदायका मानिसहरूको बाहुल्यता रहेको पाइन्छ । यो देश प्राकृतिक स्रोतहरूमा निकै धनी छ । यद्यपि आन्तरिक द्वन्द्वका कारण यहाँका खानीहरू प्रयोगमा आउन सकेको अवस्था छैन । यहाँ विशेष गरेर तामा, हिरा, सुन, कच्चा तेल र कफीको उत्पादन भई निर्यात हुने गरेको छ । यस देशको कुल क्षेत्रफल करिब २३,५०,००० वर्ग किमिमा फैलिएको छ । छिमेकी देशहरूमा पूर्वमा युगान्डा, रुवान्डा, बुरुण्डी र तान्जानिया छन् भने पश्चिममा कङ्गो ब्राजिभिले अवस्थित छ । त्यस्तै उत्तरमा मध्य अफ्रिका र सुडान रहेका छन् भने दक्षिणमा जाम्बिया र अंगोला छन् । यसको राजधानी किन्सासा हो । यहाँको प्रमुख जाती भनेको बन्टु हो । विशेष गरेर यहाँ फ्रेन्च र लिंगोला भाषाभाषीको बाहुल्यता रहेको छ र यिनै भाषाको बढी बोलचाल हुने गरेको छ । १० वटा अलग–अलग प्रदेश वा राज्य रहेको यो मुलुकको प्रमुख बाली कफी, सुगर, रवर, चिया हो । यहाँको खेतीयोग्य जमिन ३ प्रतिशत रहेको छ । यस देशको प्रतिव्यक्ति आय २०० अमेरिकी डलर छ भने यसका प्रमुख व्यापारिक साझेदार राष्ट्रहरूमा दक्षिण अफ्रिका, बेल्जियम, फ्रान्स, केन्या र जाम्बिया हुन् । यो देशमा ३० वटा एयरपोर्ट रहेका छन् । यहाँका मानिसहरूको औषत आयु ५५ वर्ष र साक्षरता ६८ प्रतिशत देखिन्छ । संयुक्त राष्ट्रसंघको मानव विकास प्रतिवेदन, २०१० अनुसार न्यूनस्तरको मानव विकास भएका देशहरूमा सूचीकृत विश्वको १६८ औँ स्थानमा यो देश पर्दछ ।
रास्ट्रपति : जोसेफ काबिला
राजनीतिक इतिहास
समयको विकास क्रमसँगै यो मुलुकमा स्वतन्त्रताका लागि विभिन्न समयमा धेरै पटक आन्दोलन भएका छन् । युरोपियन शासनको समय अर्थात् विशेष गरी सन् १८८०–१९२० सम्म दशांै लाख कङ्गोली नागरिकहरूले आप्mनो जीवन उत्सर्ग गर्न पुगेको राजनीतिक इतिहास रहेको छ । कङ्गोका नागरिकहरूले दास, व्यापार र राष्ट्रिय स्वतन्त्रताका लागि आप्mनो बलिदानी दिनुपरेको थियो । सन् १९५९ को समयमा नागरिक स्वतन्त्रताका लागि व्यापक रुपमा आन्दोलन र विरोध जुलुसहरू भए । जसको परिणाम स्वरूप सन् १९६० को जुन महिनामा यो देश स्वतन्त्र देशको रूपमा घोषित भयो । तत्कालीन नेता लुमुम्बाको नेतृत्वमा रहेको राज्य भने गृहयुद्धमा फस्यो । ३० जुन १९६० मा देशलाई गणतन्त्र कङ्गो घोषणा गरियो । तथापि मुलुकमा हत्या, हिंसा, आतंक र अस्थिरताले निरन्तर पाई नै रह्यो । तत्कालीन रष्ट्रपति जोसेफ कासाभुले प्रधानमन्त्रीमा लुमुम्बालाई नियुक्त गरे । यता राष्ट्र संघको सुरक्षा परिषद्ले वेल्जियमलाई आफ्नो सैनिक बल हटाउन आग्रह गरे भने युएनले आफ्नो शान्ति सेना खटायो । सन् १९६० को सेप्टेम्बरमा राष्ट्रपति जोफेस कासाभुले प्रधानमन्त्री लुमुम्बालाई हटाएर सन् १९६१ को जनवरीमा षड्यन्त्रपूर्वक लुमुम्बाको हत्या गरियो । यसरी नै राजनीतिक समूहहरू सरकारमा आउनेबित्तिकै विपक्षीहरूको कार्य र देशको नाम परिवर्तन गर्ने होडबाजी नै चलेको देखिन्छ । पाँच पटकसम्म यो देशको नाम परिवर्तन भएको इतिहासले देखाउँछ । सन् २००१ को जनवरीमा राष्ट्रपति काबिलाको षड्यन्त्रमूलक तरिकाले हत्या भएपछि उनका छोरा जोसेफ काबिला राष्ट्रपति बने । गृहयुद्ध, विदेशी हस्तक्षेप, जातीय विद्रोह र शरणार्थी समस्या जस्ता अनेकौं कारणले गर्दा सन् १९९० देखि सन् २००२ सम्ममा करिब ३० लाख नागरिकले ज्यान गुमाउनुपरेको तथ्य सार्वजनिक भइसकेको छ । सन् २००३ देखि सरकार र विद्रोही समूहबीच शक्ति बाँडफाँडको सम्झौता भयो । सोही वर्ष नयाँ सरकारको गठन गरियो । सन् २००५ को मे महिनामा व्यवस्थापिका सभाको अनुमोदन गरेसँंगै नयाँ संविधान लागू गरियो । सन् १९६० मा सम्पन्न हुन नसकेको बहुदलीय निर्वाचन ४६ वर्षपछि अर्थात् सन् २००६ जुलाईमा सम्पन्न भयो । उक्त निर्वाचनमा विद्रोही नेता जिन पिऐर बेम्बालाई पराजित गरी जोसेफ काबिल राष्ट्रपति बने । अहिले पनि विभिन्न समूह बनाएर विद्रोहीहरूले हत्या, हिंसा र लुटपाट गरिरहेका छन् । त्यस्ता समूहलाई निस्तेज पार्न संयुक्त राष्ट्रसंघले शान्ति मिसनका लागि नेपाल, बंगलादेश, चीन, मोरक्कोलगायत देशका १८,७०० शान्ति सेना तैनाथ गरी डी.आर. कङ्गोलाई गृहयुद्धबाट मुक्त गर्ने कार्य गरिरहेको छ । यस्तो कार्यलाई प्रशंसायोग्य नै मान्नुपर्छ । विगतका तुलनामा हाल कङ्गोमा विद्रोही समूहले केही ठाउँहरूमा गर्ने छिटफुट घटनाबाहेक धेरै भागहरूमा शान्त्ति स्थापना भइसकेको छ । यो देशमा आगामी २०१८ को डिसेम्बर ३ तारिखका दिन निर्वाचनको मिति तोकिएको छ । निर्वाचन हुन्छ या हुँदैन ? त्यो भने राष्ट्रपति काबिलाको नियतमा भर पर्नेछ ।
विकास निर्माणमा नेपाली शान्ति सेना
संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाको लागि मात्रै नभएर त्यस देशको विकासलाई पनि महत्व दिँदै आइरहेको छ । हामी सबैलाई भ्रम के नहोस् भने शान्ति सेना खाली लडाइँ गर्नमात्र जाने हो । शान्ति सेनाले द्वन्द्वग्रस्त मुलुकको शान्ति स्थापना गर्दै त्यस देशको विकास निर्माणमा समेत त्यत्तिकै महत्वपूर्ण योगदान गरिरहेको छ । डी.आर. कङ्गोमा नेपाली सेनाले पु¥याएको विकासको योगदानलाई प्रत्यक्ष आफ्नो आखाँले हेर्न पाउँदा निकै खुसी लाग्यो । यस कार्यबाट नेपाली सेना र संयुक्त राष्ट्रसंघ प्रशंसाका पात्र बनेका छन् । आजभन्दा १५ वर्ष अगाडि अर्थात् २३ अक्टोवर २००३ मा शान्ति मिसनका रूपमा नेपाली सेना कङ्गो पुगेको हो । नेपाली सेनाले विकासका योजनाहरू बनाएर काम तीव्र गतिमा गरिरहेको शान्ति मिसन सेक्टरका उच्च अधिकारीले जानकारी दिए । नेपाली सेना मातहतको नेपाली इन्जिनियर्स कम्पनी २१ ले बुनिया कङ्गोमा विकासका योजनाहरू संञ्चालन गरिराखेको छ भने अब नेपाली इन्जिनियर कम्पनी २१ को फिर्तीसँगै नेपाली इन्जिनियर्स कम्पनी २२ ले ती अपुरो परियोजनाहरूसँगै नयाँ परियोजनाहरूको जिम्मा पाएको छ । जसको कमाण्डरमा प्रमुख सेनानी जगदीश खड्काले सम्हाल्ने छन् भने नेपाली इन्जिनियर्स २१ को क्रममा प्रमुख सेनानी दिव्यराज प्रसाई आफ्नो एक वर्ष कार्र्यकाल सफल रूपमा सम्पन्न गरी स्वदेश फिर्ता भइसकेका छन् ।
नेपाली इन्जिनियर्स कम्पनी २१ ले हालसम्म २४०० किलोमिटर लामो कच्ची रोडको निर्माण गरिसकेको छ । त्यस्तै बुनियाको माभीभी विमानस्थलको धावनमार्ग पनि यही कम्पनीले निर्माण गरिरहेको छ भने दर्जनौं स्कुल, पुल, शौचालयको पनि निर्माण गरिरहेको छ । त्यसैगरी नोभेम्बर २०१७ मा सिमीलीकी भन्ने ठाउँमा विद्रोहीले आक्रमण गरी तान्जानीयाका १७ जना सेनाको मृत्युपछि संयुक्त राष्ट्र संघले सिमीलीकीमा जाने बाटोको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कमानङ्गो सिमीलीकी रोड १८ किमी पूरा भइसकेको छ भने बाँकी कार्य निरन्तर रूपमा अगाडि बढिरहेको अवस्था छ । विकास निर्माणको परियोजना सँगसँगै त्यहाँका स्थानीय बासिन्दाहरूलाई शिक्षा तथा स्वास्थ्यसम्बन्धी जनचेतना दिने काम पनि नेपाली सेनाले गरेको छ । नेपाली सेनाले कङ्गोबासीको मन जितेर लोकप्रियता पनि कमाएको पाइयो । स्थानीयबासीका समस्याहरूप्रति नेपाली सेना स्वयंसेवकको रूपमा खटिएको देखियो । स्थानीयस्तरमा स्वास्थ्य शिविर, खानेपानी आदिको व्यवस्था पनि नेपाली सेनाले गर्ने गरेकाले सेनाको कामप्रति स्थानीयबासीहरूले प्रशंसा पनि गरे ।
विकास निर्माणका परियोजनाहरू संञ्चालन गर्न निकै कठिन रहेको प्रमुख सेनानी दिव्यराज प्रसाईले बताए । कङ्गोको विद्रोही समूहबाट बच्नुपर्ने, प्रतिकूल मौसम, अप्ठ्यारो बाटो, कम म्यानपावर, टाढा–टाढा दूरीसम्म विकास निर्माणको काम गर्दै जानुपर्ने भएकाले खान बस्न आदिको समस्या रहेको उनले बताए । तर पनि ती यावत् समस्याहरूलाई चिर्दै विकासका योजनाहरू समय सीमाभित्रै सम्पन्न गरेकोमा प्रमुख सेनानी प्रसाईंले खुसी व्यक्त गरे । संयुक्त राष्ट्रसंघको निर्देशन बमोजिम नै विकास निर्माणका परियोजनाहरू अघि बढिरहेको र आगामी केही वर्षसम्म पनि यसले निरन्तरता पाउने मिसनमा सहभागी एक उच्च सैनिक अधिकृतले बताए । द्वन्द्वग्रस्त मुलुकहरूको भ्रमण र अवलोकन गर्ने मौका प्रदान गरेकोमा संयुक्त राष्ट्रसंघ, नेपाली सेना तथा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीलाई विशेष धन्यवाद दिन चाहन्छु । त्यसैगरी यस भ्रमणमा मसँगै सहभागी हुनुभएका पत्रकार चन्द्रशेखर अधिकारी, दीपराज सत्याल, महेश्वर गौतमका साथै महासेनानी पूर्णबहादुर खत्री, प्रमुख सेनानी जगदीश खड्का, मेजरद्वय मुरारी विष्ट, विजयराज पाण्डेय र हाम्रो भ्रमण सुखद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका प्रमुख सेनानीद्वय दिव्यराज प्रसाई, विजित रेग्मी धन्यवादका पात्र हुनुहुन्छ ।