काठमाडौं । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाई गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियनहरूले मुलुक संघीयतामा गएपछि त्यसअनुसारको कानून निर्माण नहुँदा संघीय शासन प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै संघीय निजामती सेवा विधेयक छिटो अघि बढाउन १० बुँदे माग गरेको हो।
ट्रेड युनियनहरूले संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने माग राखेको छ।
त्यस्तै योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीहरूको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशको लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए।
त्यस्तै ट्रेड युनियनहरूले अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगिताबाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीलाई स्थायी सरहको उपदान दिएर अवकाश दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्नुपर्ने सञ्जालको माग छ ।