ललितपुर । सत्तारूढ दल नेकपा एमालेले अहिले सरकार परिवर्तनको कुनै सान्दर्भिकता र औचित्य नरहेको निस्कर्ष निकालेको छ ।
सोमबार पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको चाहना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहेक अरु कसैको नभएको स्पष्ट पारेको हो । माओवादी अध्यक्ष दाहालले सरकार बाहिर हुँदाको कुण्ठा र पीडा बोधका कारण भ्रम र्सिजना गर्ने प्रयास गरेको पनि बैठकको निस्कर्ष रहेको एमालेका पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आइतबार नयाँ बर्षका अवसरमा सार्वजनिक गरेको भिडियो सन्देशप्रति आपत्ति जनाउँदै शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष समेत निकालेको छ ।
त्यस्तै एमालेले चैत १५ गतेको राजावादी आन्दोलनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने बताएको छ । आन्दोलनका क्रममा भएका हिंसा र विध्वंस योजनावद्ध भएको ठहर एमालेको छ । सत्तारुढ दल एमालेले तीनकुने घटनामा प्रहरी अनुसन्धान चलिरहेको भन्दै प्रचलित फौजदारी कानून कार्यविधि अन्तरगत कारवाही हुनेपनि जनाएको छ । एमालेले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।
बैठकले पार्टीको ७६ औं स्थापना दिवस आगामी वैशाख ९ गते भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ । त्यस्तै एमालेले कम्युनिष्ट योद्धाहरु लालबहादुर विश्वकर्मा, शोभाराम बस्नेत, वाचस्पति देवकोटा, शान्ता मानवी, सत्य नारायण मण्डल, हरिचरण सिवाकोटी र स्वर्गीय रत्न शर्मा न्यौपानेलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैशाख ११ गते एमालेले काठमाडौंको टुँडिखेलमा जनप्रदर्शन गर्ने निर्णयपनि गरेको छ ।