काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताउनुभएको छ ।
फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उहाँले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो, “ मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटामार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।” भिजिट नेपाल–२०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
उहाँले फोटो पत्रकारले पछिल्लो पटक विकास भइरहेको प्रविधि र सामाजिक सञ्जालका बारे चनाखो हुनुपर्ने सुझाव दिँदै राम्रा फोटो खिचेर आफूलाई उत्कृष्ट साबित गर्नुपर्ने बताउनुभयो ।
नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बीरको प्रदर्शनी यही साउन २१ गतेसम्म चल्नेछ । उक्त कार्यक्रममा नरेन्द्र श्रेष्ठलाई यस वर्षको उत्कृष्ट पुरस्कारस्वरुप नगद रु एक लाख प्रदान गरियो । पुरस्कृत श्रेष्ठले प्राप्त गरेको पुरस्कारबाट उहाँले खिचेको तस्बीरमा देखिएका मृतक कमल सदाका बुबा फुदन सदालाई रु ७० हजार हस्तान्तरण गर्नुभयो ।
क्लबका अध्यक्ष विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने बताउँदै ‘साउथ एशिया प्रेस फोटो कन्टेस्ट’ कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।