पोखरा, प्रदेश नं ४ को आजको प्रदेश सभा बैठकमा शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको राजस्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा छलफल भएको छ ।
बैठकको प्रारम्भमा आव २०७५÷७६ को प्रदेश सभामा प्रस्तुत राजस्व र व्ययको अनुमान सम्बन्धमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट यथार्थवादी धरातलमा तयार गरिएको बताउनुभयो । बजेटलाई समन्यायिक बनाउन खोजिएको उल्लेख गर्दै उहाँले यसैका आधारमा प्रदेशलाई समृद्धिको मार्गमा उन्मुख गराइने बताउनुभयो ।
राजस्व र व्ययको अनुमान सम्बन्धमा धारणा राख्दै प्रदेश सभा सदस्य राजीव पहारीले लगानीमैत्री वातावरण सिर्जना गर्नेलगायत विषयलाई बजेटले समेटेको बताउँदै यसले समग्र प्रदेशको समृद्धिका लागि बाटो खुला गरेको धारणा राख्नुभयो ।
प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेटले सामाजिक सुरक्षालगायत अति विपन्न एवं सीमान्तकृत वर्गलाई समेट्न नसकेको धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले बजेटले प्रदेशको समृद्धिका लागि मार्गनिर्देश गरेको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि सत्तापक्ष र प्रतिपक्ष एकापसमा हातेमालो गर्दै बढ्नुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य पियारी थापाले बजेटले सबै क्षेत्र र समुदायलाई समेट्नुपर्नेमा जोड दिनुभयो भने हरिशरण आचार्यले बजेट समन्यायिक बन्न नसकेको धारणा रााख्नुभयो ।
बैठककमा प्रदेश सभा सदस्य मीना गुरुङ, प्रकाशचन्द्र दवाडी, चन्द्रबहादुर बुढा, पुष्पा केसी भण्डारी, डोबाटे विश्वकर्मा, मधुमाया अधिकारी, जुनादेवी नेपाली, दीलमाया रोकामगर र रोशनबहादुर गाहा थापाले बजेटको कार्यान्वयन पक्ष प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो । रासस