काठमाडौं, २० चैत । पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा तथा प्राकृतिक सुन्दरतालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’ हुँदैछ ।
‘अबको गन्तव्य पाथीभरा’ नाराका साथ ताप्लेजुङ र आसपास तेह्रथुम, संखुवासभा र पाँचथरमा रहेका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गरी पाथीभरा जाने पर्यटकलाई प्रेरित गर्न नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
ताप्लेजुङ सरोकार केन्द्रको आयोजना तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको यात्रा काठमाडौँबाट शुरु भई धरान, धनकुटा, तेह्रथुम, संखुवासभाको सिमाना हुँदै ताप्लेजुङको पाथीभरा पुग्नेछ । त्यस्तै, पाँचधरको हिलिहाङ–सिलौटे पौवा भञ्ज्याङ र इलामको कन्याम–श्रीअन्तु हुँदै काठमाडौँमा आएर पदयात्रा समापन हुनेछ । पदयात्रा यही चैत २६ देखि वैशाख ३ गतेसम्म हुनेछ ।
पदयात्रामा सम्बन्धित जिल्लाका सांसद, स्थानीय निकायका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, नागरिक समाज तथा स्थानीयको सहभागिता हुँदैछन् ।
पदयात्राका क्रममा धरान, धनकुटा, टुटेदेउराली, पाँचथर, इलाम, बिर्तामोडमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम हुनेछन् भने चौकीमा लालीगुराँससम्बन्धी कार्यक्रम ‘गुफामा लालीगुराँसको संरक्षण र विकाससम्बन्धी र मैवाखोलाको साँघुमा ताप्लेजुङको विकासमा पर्यटन र चुनौती’ विषयक कार्यक्रम हुनेछ ।
पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पदयात्रा महोत्सवले नयाँ पर्यटकीय वस्तु उत्पादन र ओझेलमा परेका पर्यटकीय गन्तब्यको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
पर्यटकीय पूर्वाधारको मुख्य आधार अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिइ दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने बताए ।
नेपाका एमालेका सचिव योगेश भट्टराईले पूर्वको पर्यटन विकासको ठूलो अभियानका रुपमा रहेको पदयात्रा महोत्सवको भव्यरुपमा सफल पार्न सबैको सक्रिय सहयोग चाहिने बताए । उनले सीमित गन्तव्यमा केन्द्रीय पर्यटन व्यवसायीलाई पूर्वका पर्यटकीय गन्तव्यमा केन्द्रित हुन पनि आग्रह गरे ।
कार्यक्रममा सांसद भवानी खापुङ, राजेन्द्र राई, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले प्रदेश नं १ को मुख्य आर्थिक स्रोतका रुपमा रहेको पर्यटन र चियाखेतीको प्रवद्र्धनका लागि पनि पदयात्रा उपयोगी हुने बताए ।
पाथीभरा जाने पर्यटकमा तेह्रथुम, संखुवासभा र पाँचथरको पर्यटकीय क्षेत्रको प्रवद्र्धनार्थ पदयात्रा महोत्सव गर्न लागिएको महोत्सवका संयोजक टंक श्रेष्ठले बताए । पदयात्रा महोत्सवको अनुमानित कूल लागत ५५ लाख २५ हजार लाग्ने र यसका लागि १० भन्दाबढी निजी संस्थाको सहयोग रहनेछ ।
प्रमुख धार्मिकस्थल पाथीभरा मनले चिताएको पु¥याइदिने साक्षात देवीका रुपमा प्रसिद्ध छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धार्मिक आस्था र प्राकृतिक सौन्दर्यकको चुलीका रुपमा लिइन्छ ।
ताप्लेजुङमा कञ्चनजंघागालगायत पाँच हजार मिटरमाथिका मात्रै पाँच वटा हिमाल छन् । विश्वकै सुन्दरमा गनिएको सिंहलीला हिमश्रृंखला रहेको छ ।