संयुक्त राष्ट्रसंघले हजारौँ अफ्रिकी आप्रवासीलाई बलपूर्वक इजरायलबाट बाहिर जान बाध्य पार्नेगरी ल्याइएको आप्रवासी स्थानान्तरण योजनालाई रद्द गर्न आग्रह गरेको छ । राष्ट्रसघंले उक्त योजनालाई ‘असंगत’ तथा ‘असुरक्षित’ भनि आलोचना गरेको छ ।
इजरायलद्वारा ल्याइएको उक्त योजना खासगरी अफ्रिकी मुलुकहरू इरिट्रीया र सुडानबाट यहाँ शरणार्थीका रूपमा इजरायलका विभिन्न स्थानमा आई बसोबास गर्दै आएका ३८ हजार अफ्रिकीलाई लक्षित गरी ल्याइएको राष्ट्रसंघको ठहर छ ।
यदि सन् २०१८ को मार्चसम्म इजरायल छोडेमा उनीहरूलाई तीन हजार ५०० अमेरिकी डलर र हवाई टिकट दिने योजना अघि सारेको छ । अन्यथा उनीहरूलाई पक्राउ गर्न सकिने चेतावनी इजरायलले दिएको छ ।
गत बर्ष पहिलोपटक सार्वजनिक गरिँदा उक्त योजनाको विश्वभरबाट व्यापक आलोचना भएको थियो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले गत हप्ता उक्त योजना लागू भएको घोषणा गर्नुभएको थियो । यससँगै संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसिआर)ले चासो व्यक्त गरेको हो ।
यूएनएचसिआरले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘इजरायललाई इरिट्रीयाली, सुडानीलगायतका अफ्रिकी सब साहारा क्षेत्रका आप्रवासी शरणार्थीलाई व्यवस्थापन गर्न ल्याइएको योजना रोक्न राष्ट्रसङ्घले पुनः आग्रह गर्दछ ।’
यूएनएचसिआरका प्रवक्ता विलियम स्पिन्डलरले जेनेभामा सञ्चारकर्मीसँग भनेका छन्, ‘कार्यक्रम ‘संगतीपूर्ण नभएको’ र ‘यो पारदर्शी रूपमा कार्यान्वयन नगरिएको’ पाइएको छ ।’ उनले इजरायलले आप्रबासीलाई कहाँ जाने विकल्प नदिएको तर इरिट्रीया र सुडान फर्किन खतरा रहेको जनाएको बताएका थिए । -जेनेभा (एएफपी)