(रासस÷एएफपी) चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्काे पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ ।
राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्काे पाँच बर्षका लागि निर्वाचित गरेको हो ।
सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्काे पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो ।
चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उहाँलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो ।
सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो ।
गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उहाँ एकपछि अर्काेगरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए ।
उक्त महाधिवेशले राष्ट्रपति चिनफिङको नाम तथा उहाँको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो । जसका कारण उहाँ चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रीय र शक्तिशाली बन्ने निश्चित भएको छ ।