लस भेगस, (रासस÷एएफपी)अमेरिकी सहर लस भेगसमा आइतबार राति भएको भिषण आक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ५९ पुगेको छ । अरु ५२७ जना घाइते छन् ।
घाइतेहरु अस्पताल भर्ना भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुने व्यक्तिको संख्या अझै बढ्नसक्ने चिकित्सकहरुले बताएका छन् ।
उपचाररत चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, निकै आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् ।
किन भयो आक्रमण ?
अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । उसले भनेको छ– के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ ।
अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ । यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको बताइएको छ ।
उक्त गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा पनि प्रहरी अनुसन्धान जारी छ ।
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ ।
तर सो लस भेगस गोलीकाण्डका आक्रमणकारी के कस्तो प्रकृति र स्वभावका थिए र किने आक्रमण गरेका हुन् भन्ने बारेमा प्रहरीले अहिलेसम्म केही भन्न सकेको छैन ।
प्रहरीले भनेको छ– हामीले अनुसन्धान जारी राखेका छौँ, तर प्याडकलले आक्रमण गर्नुको उद्देश्यबारेमा भने अहिलेसम्म पनि थाहा हुन सकेको छैन ।
आइएसद्वारा आफ्नो संलग्नताको दाबी
यसैबीच अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले भने आइतबार रातिको सो घटना आफ्नो संगठनमा आबद्ध प्याडकले गरेका र जिहादिस्टको चाहनाबमोजिम नै सो आक्रमण भएको जनाएको छ ।
उक्त संगठनको प्रतिक्रिया भन्दै दिइएका समाचारहरुमा उक्त संगठनको समन्वय र आग्रहबमोजिम नै उक्त घटना भएको हो भनी आइएसको भनाईलाई राखिएको छ ।
तर यो दाबीको प्रहरीले भने सुरुदेखि नै अस्वीकार गर्दै आएको छ । प्रहरीले उक्त दाबी झुठ भएको र प्याडकको उक्त संगठनसँग कुनै संलग्नता रहेको बारेमा केही प्रमाण नभेटिएको प्रहरीको दाबी छ ।
अनुसन्धानमा संलग्न अमेरिकी प्रहरीले भनेका छन्– अहिलेसम्मको अनुसन्धाबाट आइएससँग आक्रमणकारी प्याडकको संलग्नताको कुनै प्रमाण भेटिएको छैन ।
तर पछिल्लो एक समाचारमा उनी बसेको सोही होटलको कोठाबाट २३ वटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसका साथै प्रहरीका अनुसार प्याडकको नेभाडा राज्यस्थित आफ्नो घरबाट पनि केही हातहतियार र गोलीगट्ठा बरामद गरिएको छ ।
यी दुई घटनापछि भने प्रहरीले प्याडकको अन्तर्राष्ट्रिय संगठनसँगको सम्बन्धको बारेमा आशङ्का बढेको जनाएको छ । तर प्रत्यक्ष संलग्नताको प्रमाण भने जुटिसेको छैन ।
प्रहरीले अहिलेसम्म नै बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकू समूह आइएसबीच कुनै पनि खालको सम्बन्धको कुनै प्रमाण नभेटिएको बताइरहेको छ ।
प्रहरीले ती व्यक्तिका आफन्त, साथीभाईहरुसँग उनको खानपिन, आनिबानी तथा अन्य स्वभाव र व्यहोराका साथै प्याडक विगतमा कुनै आपराधिक क्रियाकलापमा संलग्न रहे नरहेको बारेमा थप खोजी जारी राखेको छ ।