दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उहाँ महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएको थियो ।
उहाँ यसै हप्ता अमेरिका जान लाग्नुभएको र त्यहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नुुहुने समाचार यसअघि नै कोरियाली सञ्चारमाध्यममा आएको थियो ।
अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने बतानुभएको थियो ।
उहाँले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र भ्रमणका क्रममा हुने वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पु¥याउने बताउनुभयो ।
उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । राष्ट्रपति मुनले यस विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ ।